आफ्नो प्रिय नेतालाई श्रद्धाञ्जली दिन उर्लिए पोख्रेली बासी (फोटोफिचर)

8.53K
shares

काठमाडौँ। बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि निधन भएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न पोखरा वासी उर्लिएका छन्। तीन पटक कास्कीबाट सांसद जितेका युवा नेता अधिकारी लोकप्रिय मानिन्छन्।

उनको लोकप्रियता उनलाई अन्तिम श्रद्धाञ्जली दिन उर्लिएको मानव सागरले पनि देखाइरहेको छ। उनको शव दाहसंस्कारका लागि नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार दिउँसो पोखरा पुर्‍याइएको छ।

पोखरा पुर्‍याइएसँगै उनको शव विमानस्थलबाट नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा लगेर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। स्व. मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन तथा शवयात्रामा सहभागी हुन् सरकारका तर्फबाट उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल पोखरा पुगेका छन्। उनीसँग नेपाल सरकारका केही मन्त्री पनि पोखरामा छन्।यस्तै नेकपाको तर्फबाट श्रद्धाञ्जली दिनका लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, वामदेव गौतम लगायतका नेताहरु पोखरा पुगेका छन्।

स्व. अधिकारीका बुवा-आमा भने बिहीबार नै पोखरा फर्किसकेका थिए। शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ४ बजेसम्म प्रदर्शनी केन्द्रमा राखिने र त्यसपछि महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोकहुँदै रामघाटमा लगेर अन्त्येष्टी गरिने बताइएको छ।