महायज्ञले राष्ट्रलाई अजय शक्ति प्रदान गर्ने राष्ट्रपति भण्डारीको विश्वास
वि.सं.२०७५ फागुन १९ आइतवार १६:५५
shares

वीरगञ्ज। राष्ट्रपति विद्यादेवी भण्डारीले महायज्ञहरु पञ्चतत्व, वृक्ष, वनस्पति र प्राण वायुलाई पुष्ट गर्दै प्रकृतिको चक्र र पर्यावरणलाई सन्तुलित गर्नका लागि भूमिका खेल्ने दिशामा लक्षित हुृनुपर्ने बताएकी छन्।
वीरगञ्जको आदर्शनगरमा आजदेखि शुरु भएको चारदिने गायत्री अश्वमेघ महायज्ञमा पठाएको शुभकामना सन्देशमा राष्ट्रपतिले महायज्ञले नेपालका तीर्थस्थल, पर्यटकीयस्थल, अप्रकाशित महिमा र सांस्कृतिक ज्ञान राशिलाई विश्व सामु परिचित गराउन भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यसले जीवन मूल्य र आध्यात्मिक अनुशासन प्रति जनविश्वास अभिवृद्धि हुने वातावरण तयार गर्दै राष्ट्रलाई अजय शक्ति प्रदान गर्ने बताएकी छन्।
आयोजक मूल समितिका संयोजक डा. उपेन्द्र महतोले पढेर सुनाएको सो शुभकामना सन्देशमा सर्वकल्याणको प्रादुर्भाव भएको सनातन धर्म विज्ञानको उद्गमभूमि नेपालको औद्योगिक र व्यापारी नगरी वीरगञ्जमा गायत्री अश्वमेघ महायज्ञको आयोजना भएकामा राष्ट्रपतिले खुशी व्यक्त गरेकी छन्।
नेपाली भूमिमा पहिलो चोटि भएको चारदिने गायत्री अश्वमेघ महायज्ञको अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा. प्रणव पाण्डया र सोही परिवारका प्रमुख शैलबाबा पाण्डयाले दीप प्रज्ज्वलन तथा गायत्री मन्त्रको उच्चारण गरी शुभारम्भ गर्दै नेपाल र नेपालीको खुशी, प्रगति र समृद्धिको कामना गरेका थिए।
सो अवसरमा वीरगञ्ज महानगर-पालिकाका प्रमुख विजयकुमार सरावगीले गायत्री महायज्ञबारे प्रकाश पारेका थिए। नेपाल लगायत भारतका विहार, उत्तरप्रदेश, उत्तराखण्ड, झारखण्ड, दिल्ली, हरियाणा, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, गुजरात र अन्य देश गरी ४० मुलुकका श्रद्धालुको महायज्ञमा सहभागिता छ। यसअघि महिला सहभागी रहेको कलशयात्रा नगर परिक्रमा गरी यज्ञस्थल आदर्शनगर पुगेको थियो।































