फेसबुक-ट्वीटर बन्द हुन्छ भन्दै हल्ला गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी
वि.सं.२०७५ फागुन १९ आइतवार १७:४०
shares

काठमाडौं। सरकारले फेसबुक तथा ट्वीटर लगायतका समाजिक सञ्जाल बन्द गरिने भन्ने हल्लाको खण्डन गरेको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै समाजिक सञ्जाल बन्द गर्ने कुराको खण्डन गरेको हो।
केही दिन यता विभिन्न समाजिक सञ्जालमा सरकारले फेसबुक तथा ट्वीटर बन्द गर्न लागेको भन्दै हल्ला चलाइएको थियो। यस्तो हल्ला चलाउनेलाई कारवाहीको प्रक्रिया पनि अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक ट्वीटर जस्ता सामाजिक संजाल पूर्ण रुपमा बन्द गरिने जस्ता भ्रामक सूचना फेसबुक लगायतका सामाजिक संजाल प्रयोगकर्तावाट पोष्ट गरी भ्रम फैलाउन टिप्पणी समेत गरेको सम्वन्धमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’
यस मन्त्रालय र अन्तर्गतबाट कुनै पनि सामाजिक संजाल वन्दै गर्ने सम्वन्धी सूचना प्रकाशित नभएको र त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्ति उपर कानूनी कारवाही गर्न प्रक्रिया शुरु भैसकेको तथा सामाजिक सञ्जाल संचालकलाई त्यस्ता भ्रामक सूचना सामाजिक सञ्जालवाट हटाउन अनुरोध गरि सकिएको छ। यस प्रकारको गलत र भ्रामक सूचना आ-आफ्नो सामाजिक संजाल खाताबाट पोस्ट, रिपोस्ट, लाइक गरेको भए हटाउन र नगर्न समेत सम्वन्धित सबैलाई जानकारीको लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ।’




























