सिके राउतको मागका विषयमा जनमत संग्रह !

8.36K
shares

काठमाडौं। सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ। उक्त सहमति अनुसार आजकै मितिदेखि राउतले गर्दै आएका स्वतन्त्र मधेस आन्दोलनका सबै कार्यक्रम अन्त्य भएका छन् भने राउत मुलुकको अखण्डता स्वीकार गर्न तयार भएका छन्। सहमतिको पहिलो बुँदामा नै राउतले मुलुकको अखण्डता स्वीकार गर्ने र सरकारले गठबन्धनका कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिने उल्लेख छ।

सिके राउतसँग सहमति गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले राउतको प्रशंसा गरे भने राउतले पनि प्रधानमन्त्रीको प्रशंसा गरे। तर कार्यक्रम सुरु हुनु भन्दा केही समय अगाडि सिके राउतले आफ्नो फेसबुक पेजमा सरकार जनमत संग्रह गराउन सहमत भएको लेखेका छन्। ‘नेपाल सरकार र स्वतन्त्र मधेस गठबन्धनसँग भएको वार्तामा नेपाल सरकार मधेसको माग जन अभिमतमा आधारित लोकतान्त्रिक विधि (जनमत संग्रह) को मार्फत पूरा गर्ने प्रतिबद्धता जनाएको छ।

सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतिको दोस्रो बुँदामा पनि ‘हामी आफ्ना राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्ने मान्यतामा दृढ छौं। नेपालको संविधानमा प्रयुक्त जनतामा निहीत सार्वभौम अधिकारको प्रयोग गर्दै तराई– मधेस लगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं,’ भन्ने उल्लेख गरिएको छ। सरकार र गठबन्धनबीच भएको सहमतिमा जनमत संग्रह भन्ने शब्द स्पष्ट रुपमा उल्लेख गरिएको छैन। तर राउतले भने जनमत संग्रह गर्न सरकार तयार भनेर लेखेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083