बादल भर्सेस विप्लव अन्तत : बदलिएको बाटो
वि.सं.२०७५ चैत २ शनिवार १२:२०
shares

काठमाडौ । एकै स्कुलिङका नेता हुन्, गृहमन्त्री रामबहादुर थापा (बादल) र प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)। चार वर्ष अघिसम्म यी दुवै एकै पार्टीका प्रभावशाली नेता थिए। तत्कालीन माओवादीका ‘सुप्रिमो प्रचण्ड’ ले क्रान्ति माथि गद्दारी गरेको आरोप लगाउँदै दोस्रो संविधानसभाको चुनाव बहिष्कार गर्ने देखि त्यस बेला चुनाव बिथोल्न सानातिना विस्फोटका योजना दुवै नेता सँगै बसेर बनाउँथे।
चार वर्षयता दुई नेताको बाटो अलग भएको छ। विप्लव अझै पनि क्रान्तिमा गद्दारी भएकै निष्कर्षमा छन्। एकीकृत क्रान्तिको कार्यदिशा अन्तर्गत फेरि छापामार युद्धकै पुनरावृत्तिको तयारीमा छन्। बादल भने विप्लवको त्यही योजना निस्तेज पार्ने मुख्य अड्डा गृह मन्त्रालयको बागडोर सम्हालि रहेका छन्। विप्लव–बादल दुवै अहिले एकअर्काका योजना विफल पार्न लुकामारी खेल्दै छन्। स्वभाव, आनीबानी पनि दुवै नेताका फरक छन्।
‘विप्लवको स्वभाव प्रचण्डसँग मिल्न खोज्छ, आफैंमा सबै कुराको केन्द्रीकरण गर्न खोज्ने र महत्ववाकांक्षी पनि। आफूलाई लागेको काममा दृढ भएर लागि पर्ने। तर बादलको स्वभाव त्यस्तो छैन’, दुवै सँगै निकट रहेर सहकार्य गरेका एक नेता भन्छन्, ‘बादल छलफल/बहसमा राम्रोसँग सहभागी हुने, निर्णायक निर्णय गर्नु पर्ने बेलामा बीचको भूमिका खेल्ने र फेरि एउटा परिघटना भयो भने बोल्ड डिसिजन लिने स्वभावका छन्।’
१२ वर्ष ११ महिना जेठा बादल
फरक सामाजिक पारिवारिक पृष्ठ भूमि छ यी दुई नेताका। बादल जनजाति पृष्ठ भूमिका नेता हुन् भने विप्लव ठकुरी खान्दानका। विप्लव भन्दा बादल उमेरमा जेठा छन्। यी दुईका बीचमा झन्डै १२ वर्ष ११ महिना उमेरमा अन्तर छ। दुवै नेता मध्यमवर्गीय परिवारमा जन्मिएका हुन्। २०१२ वैशाख १९ गते गुल्मीमा जन्मिएका थिए बादल। विप्लव भने २०२४ फागुन ११ मा रोल्पाको इरिवाङमा।
बादलका पिता इन्डियन आर्मीका लेफ्टिनेन्ट कर्णेल भई रिटायर्ड भएका थिए। इन्डियन आर्मी भएका कारण बुवाको जता–जता सरुवा हुन्थ्यो, उनले त्यतैत्यतै गएर पढेका थिए। त्यही क्रममा उनले सिलुङमा एक, देहरादुनमा ४ र हैदराबादमा ८ कक्षासम्म पढेका थिए। बुवाको अवकास पछि बादलको परिवार गुल्मीबाट चितवन बसाइँ सरेको थियो।
बादलले चितवनकै शारदा माविबाट २०३१ मा एसएलसी पास गरे। विप्लवका पनि काकाबुवाहरू इन्डियन आर्मीमा थिए। उनका आफ्नै परिवारमा भने कोही पनि आर्मीमा थिएनन्। रोल्पाको इरिवाङबाट औपचारिक शिक्षा सुरुआत गरेका विप्लवले लिवाङको बालकल्याण माविबाट २०४३ मा एसएलसी पास गरेका थिए।
विप्लव फेरि छापामार युद्धकै पुनरावृत्तिको तयारीमा छन्। बादल भने विप्लवको त्यही योजना निस्तेज पार्ने मुख्य अड्डा गृह मन्त्रालयको बागडोर सम्हालि रहेका छन्।
बादलले एसएसली पछि चितवनकै रामपुर कृषि क्याम्पसमा पढे। आईएस्सीएजी सके पछि डिग्रीका लागि फ्री कम्पिटीसन छनोटमा परेर सोभियत संघ मस्कोको लुमुम्बा विश्वविद्यालयमा बादलले बालीविज्ञान पढेका थिए। २०३५ मा उनी स्वदेश फर्केर राजनीतिमा सक्रिय भए। विप्लव भने एसएसली पछि रोल्पाबाट काठमाडौं आए। नेपाल ल क्याम्पसमा भर्ना भए, कानुन पढ्न थाले। २०४४ सालमा अध्ययनका लागि काठमाडौं आएका विप्लवले स्नातक तेस्रो वर्षमा भर्ना हुने बेला सक्रिय राजनीति गर्न थाले। त्यस पछि २०४८ देखि उनले औपचारिक अध्ययन छोडेका थिए।
आफू जन्मेको ठाउँबाट बसाइँ सर्ने बादलको परिवारजस्तै विप्लवको परिवार पनि रोल्पाबाट बसाइँ सरेर कपिलवस्तुको शिवगढीमा आएको थियो, २०४५ सालमा। त्यहाँ विप्लव परिवारको पहिल्यै देखि नै केही जमिन थियो, त्यहीं घर बनाएर विप्लवको परिवार बस्यो। अहिले पनि विप्लवको त्यही शिवगढीमा स्थायी घर छ।
राजनीतिक यात्रा

रामपुर कृषि क्याम्पस अध्ययनकै बेला प्रचण्ड लगायतसँगको संगतमा बादल राजनीतिमा प्रवेश गरेका थिए। पछि रूसमा अध्ययनका क्रममा पनि उनको मनमोहन अधिकारीका छोरा प्रकाश लगायतसँग सम्पर्क भयो। उनी राजनीतिमै तानिए। ०३५ मा स्वदेश फर्के पछि बहुदलका पक्षमा आन्दोलित भए। ०३७ मा पार्टीमा निवेदन दिएर बादलले पूर्णकालीन राजनीति सुरु गरे। प्रचण्डको प्रस्ताव र अमिक शेरचनको समर्थनमा उनले पार्टी सदस्यता लिएका थिए। उनको पार्टी नाम पहिले लाल सिंह, पूर्णकालीन बने पछि आकाश र पछि बादल।
विप्लव भने विद्यार्थी राजनीतिबाट जोडिएर आएका छन्। विद्यार्थी राजनीतिमा विप्लव २०३९ देखि सक्रिय भएर लागे। २०४३ मा विद्यार्थीको रोल्पा अध्यक्ष, २०४८ मा विद्यार्थी केन्द्रीय सदस्य हुँदै उनी माओवादीले जनयुद्ध सुरु गर्दा विद्यार्थीको केन्द्रीय उपाध्यक्ष तथा पार्टी ललितपुर जिल्ला सेक्रेटरी थिए।
नेकपा केन्द्रीय सदस्य रामदीप आचार्यका भनाइमा, विप्लवले विद्यार्थी मोर्चा र बादलले पार्टी आन्तरिक मोर्चाबाट राजनीति सुरु गरेका थिए। ‘अन्तर्मुखी स्वभावका छन् बादल। तर विप्लव बहिर्मुखी स्वभावका। त्यही स्वभावका आधारमा विप्लव सबैसँग सम्बन्ध राख्न सक्छन्, छिटै मान्छेलाई कन्भिन्स पनि गर्न सक्छन्’, आचार्य भन्छन्।
विवाह शैली फरक
बादलको विवाह जनवादी थियो, तर विप्लवको प्रेम अनि मागी। २० वर्षको उमेरमै ठकुरी खलककै सुभद्रा मल्लसँग प्रेममा परे पछि विप्लवको मागी विवाह भएको थियो। पञ्चेबाजा बजाएर जन्ती सहित विप्लव बेहुला बनेर गएका थिए। शिक्षिका नैनकलासँग पार्टीले नै बादलको विवाह गराइ दिएको थियो। विवाहको मिठाई समेत त्यो बेला पार्टीले ऋण काडेर बाँडेको थियो। राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व अध्यक्ष रहेकी नैनकला पनि त्यस बेला पार्टी कार्यकर्ता नै थिइन्।
बादल–विप्लव दुवै राजनीतिक आन्दोलनका क्रममा जेलसमेत परेका छन्। २०३८ मा चुनाव बहिष्कारका क्रममा बादल शान्तिसुरक्षाको पुर्जीमा पक्राउ परे। त्यस बेला उनी झन्डै १० महिना जेलमा बसे। त्यस पछि भने जेलको चिसो छिँढी उनले जानु परेन। विप्लव भने पटकपटक जेल परेका छन्। २०४५ मा तीन पटक, २०४८ र २०५० मा गरी थप तीन पटक गरी ६ पटक उनी पक्राउ परे। जब जनयुद्ध सुरु भयो, त्यसपछि अहिलेसम्म भने उनले जलेको कालकोठरीमा जीवन बिताउनु परेको छैन।
एउटै कमिटीमा १३ वर्ष अघि पछि
विप्लव र बादलले १६ वर्ष एउटै पार्टीको माथिल्लो निकाय केन्द्रीय कमिटीमा बसेर काम गरे। बादल तत्कालीन नेकपा मशाल (मोटो मशाल) हुँदै पार्टी केन्द्रीय समितिमा पुगेका थिए। त्यसको १३ वर्ष पछि मात्रै विप्लव पार्टी केन्द्रीय समितिमा पुगे। बादल २०४२ सालमा र विप्लव २०५५ सालमा मात्र केन्द्रीय समितिमा पुगेका थिए।
२०५५ देखि २०७१ असोजसम्म गरी १६ वर्ष यी दुवै नेताले एउटै पार्टी र त्यसको पनि माथिल्लो निकाय केन्द्रीय समितिमा रहेर राजनीति गरे। पछिल्लो समयमा पार्टी फेरिँदा र बाटो छुट्टिनु अघि सम्म उनीहरूमध्ये बादल मोहन वैद्य (किरण) नेतृत्वको तत्कालीन नेकपा–माओवादीको महासचिव र विप्लव सचिव थिए।
एकै पार्टीमा रहँदा यी दुई नेताबीच कामको जिम्मेवारीमा एउटै कार्यक्षेत्र कहिल्यै परेन। माओवादी शान्ति प्रक्रियामा आए पछिको उक्त पार्टी भित्रको बहुचर्चित ‘धोबीघाट गठबन्धन’ पछि दुवै नेताबीच आत्मीय सम्बन्ध बढे पनि अन्य बेला गहिरो सम्बन्ध नदेखिएको हाल विप्लवकै पार्टीमा रहेका पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त) बताउँछन्।
‘बादल र विप्लवबीचको सम्बन्ध त्यति गाढा र घनिष्ट पहिल्यै देखि होइन। बादलले केही गरिदिए हुन्थ्यो भन्ने आकांक्षासम्म विप्लवजी राख्नु हुन्थ्यो, तर बादलले केही गर्दैनन् भन्नेमा उहाँ (विप्लव) पहिले देखि नै स्पष्ट हुनु हुन्थ्यो’, कार्की भन्छन्।
माओवादी शान्ति प्रक्रियामा आए पछि मात्रै बादल र विप्लवबीच हिमचिम र सम्बन्ध बाक्लिएको थियो। त्यो पनि धोबीघाट गठबन्धन पछि मात्र। ‘माओवादी भित्र चुलिएको अन्तर विरोधमा गुटबन्दी भयो। वैद्य, विप्लवहरूको गुपमा बादलजी बेलाबेला भेटघाट, छलफलमा आउने गर्नुहुन्थ्यो। त्यस पछाडि निर्णायक लडाइँ भयो खरिपाटीमा।
बादलजीको भूमिका बीचबीचको रह्यो’, त्यस बेला बादल विप्लवसँगै रहेका नेकपाका एक केन्द्रीय नेता भन्छन्, ‘धोबीघाट गठबन्धन पछि सैन्य आयोग संयोजक बादललाई बनाइएको थियो, तर बादलजीसँग सल्लाह नै नगरी प्रचण्ड–बाबुरामले सेना समायोजनका लागि चावी बुझाउने निर्णय गरे पछि बादलको पनि प्रचण्डसँग परिहाल्यो। त्यस पछि मात्र बादल–विप्लव सम्बन्ध बाक्लिएको थियो।’
पार्टी भित्र नयाँ विषय देखा पर्यो कि त्यस बेला किरण, बादल, विप्लव, देव गुरुङ र हितमान शाक्य पाँचजनाको धेरै जसो अलग्गै बैठक बस्थ्यो। त्यही बेला देखि माओवादी विभाजन हुँदासम्म मात्र दुई नेताबीच गहिरो सम्बन्ध बनेको थियो। नत्र त्यस अघि र पछि पनि खास गहिरो सम्बन्ध दुई नेताका बीचमा नदेखिएको नेताहरू नै बताउँछन्।
नेकपा (क्रान्तिकारी माओवादी) का सचिवालय सदस्य सीपी गजुरेलको भनाइमा बादल–विप्लवको सम्बन्ध सेतुका रूपमा कुलप्रसाद केसी (सोनाम) ले भूमिका खेल्थे। सोनाम अहिले प्रदेश ५ मा नेकपाका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री छन्।
‘तत्कालीन माओवादीमा देखिएको दुई लाइन संघर्षमा बादल धेरै पछि मात्र खुलेका हुन्। प्रचण्डहरूसँग सम्बन्ध–विच्छेद गरी नयाँ पार्टी बनाउने अभियानमा बादल एक्लै आएका हुन्’, गजुरेल भन्छन्, ‘बादललाई पनि क्रान्तिकारी समूहमा ल्याउनुपर्छ भन्नेमा हितमान शाक्य (सुमन) र कुलप्रसाद केसी (सोनाम) अलिक बढी नै लागेका थिए, विप्लवको बादललाई ल्याउनेमा त्यति योगदान थिएन।’
विप्लव पार्टीका पोलिटब्युरो सदस्य कार्की पनि त्यसबेला विप्लवले बादलसँगै आउँदा बाहिर एउटा पावर देखाउन काम लाग्ने भए पनि अपेक्षा नै गरेर मरिहत्ते भने नगरेको स्मरण गर्छन्। उनी भन्छन्, ‘दुई लाइन संघर्षमा बादललाई घिसारेर, तानेर लगिएको हो। सुमन र सोनामहरूको बढी जोडबल थियो। विप्लवले बादल आए भने एउटा पावर बन्छ भन्ने अपेक्षा मात्र राखेका थिए। किरण (मोहन वैद्य) आउँदा राष्ट्रिय/.अन्तर्राष्ट्रिय लिडरको ब्रान्ड बन्छ भन्ने सोच विप्लवमा थियो।’
युद्धकालमा पूर्व–पश्चिम कार्यक्षेत्र
माओवादीले जनयुद्ध सुरुआत गर्नुअघि रोल्पा–रुकुममा ‘सिज’ (सिस्ने र जलजला हिमाल) अभियान ‘बादल’ को नेतृत्वमा चलाएको थियो। यो ०५१–०५२ सालतिरको कुरा हो। त्यही अभियानले जनयुद्धको आधार तयार गरेको माओवादी धारका नेताहरू बताउने गर्छन्।
बादल रोल्पा रुकुममा सिज अभियान लिएर पुग्दा विप्लव काठमाडौंमा थिए। उनी विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष तथा पार्टी ललितपुर जिल्ला सेक्रेटरी पनि थिए।
बादल पश्चिममा छँदा विप्लव त्यहाँ थिएनन्। जनयुद्ध सुरु भएको केही समयभित्रै बादल पार्टीभित्र सांस्कृतिक कारबाहीमा परे। त्यसको केही अगाडि मात्र विप्लवलाई भ्यालीबाट पार्टीले पश्चिम त पठायो, तर कर्णाली तिर। बादल कारबाहीमा पर्दा धौलागिरि अर्थात् हितमान शाक्यको कार्यक्षेत्रतिर पठाइयो। एक वर्षजति उनी कारबाहीमा बसे। पछि फुकुवा भए पछि उनलाई पूर्वतिरको जिम्मेवारीमा पार्टीले पठायो।
विप्लव भने २०५४ जेठमा सरुवा भएर कर्णाली पुगे। कर्णाली उपक्षेत्रीय ब्युरोको इन्चार्ज हुँदै ०५५ सालमा पार्टीको चौथो विस्तारित बैठकबाट उनी केन्द्रीय सदस्य पनि भए। २०५९ मा राप्तीमै काम गर्दागर्दै उनी पोलिटब्युरो सदस्य बने। २०५९ देखि २०६३ सम्म राप्तीमै काम गरे। केन्द्रीय आधार इलाका ब्युरो इन्चार्जका जिम्मेवारीमा थिए उनी त्यस बेला। पछि उनी पार्टीको सचिवालय सदस्य पनि भए।
‘उहाँहरूबीच वैचारिक राजनीतिक छलफल बहस त हुन्थ्यो होला। तर सँगसँगै बसेर काम गरेको युद्ध अवधि भर देखिएन’, विप्लव विद्यार्थी उपाध्यक्ष रहँदा महासचिव रहेका नयाँ शक्तिका नेता गंगा श्रेष्ठ भन्छन्, ‘पश्चिममा बस्दा पनि बादल र अनन्त, पूर्वमा आउँदा पनि बादलसँग अनन्त नै हुनुभयो। बादलसँग बसेर विप्लवले काम गर्नै पाएनन्।’
बादललाई महामन्त्री बनाउन लबिङ
२०४२ सालतिरबाटै जनयुद्धको आन्तरिक तयारी गर्दै गरेका प्रचण्ड, किरणहरूले पटकपटक बताए पनि एक दशक बितिसक्दा पनि आँटेका थिएनन्। विप्लव, मणि थापा, गंगा श्रेष्ठ लगायत युवा नेताहरू तत्काल जनयुद्ध सुरु गर्नुपर्छ भनी हत्तारिएका थिए। उनीहरूले पार्टी नेतृत्वलाई भेटेर दबाब पनि बढाइरहेका थिए। बादल भने राप्तीको आधार इलाकामा रहेर सिज अभियानको फिल्डमै बसेर प्रत्यक्ष नेतृत्व गरि रहेका थिए।
त्यस क्षेत्रमा बादलको लोकप्रियता कति थियो भने रोल्पा, रुकुमका कतिपय स्थानमा बादलको नाममा सार्वजनिक भित्ताहरूमा स्लोगनहरू लेखिएका थिए। बादलकै निर्देशनमा कामको जिम्मेवारी नपाए पनि रोल्पामै जन्मिएका विप्लवलाई त्यहाँ बादलको बढ्दो लोकप्रियता थाहा थियो।
त्यही बीच जनयुद्ध तयारीकै एउटा भेलामा रोस्टमबाट बादल सम्बोधन गरिरहेका थिए। त्यही बेला रोस्टममा एउटा चिट पुगेको थियो। चिटमा पार्टी महामन्त्री बादललाई बनाउनुपर्छ भन्ने लेखिएको थियो।
‘रोस्टममा त्यसले ठूलो खैलाबैला मच्चियो। कसले पठायो, पठायो भन्ने हुँदा विप्लवहरूको टोलीले पठायो भन्ने भयो। त्योपछाडि प्रचण्ड र विप्लवको परेको थियो’, त्यस बेला बैठकमा सहभागी रहेका नेकपाका एक नेता भन्छन्, ‘विप्लवहरूले बादलसँगको सामीप्य सम्बन्धका कारण भन्दा पनि छिटो जनयुद्धको हुटहुटीका कारण त्यस्तो चिट रोस्टममा पुर्याएका थिए।’
त्यसपछि जनयुद्ध सुरु भइहाल्यो, यानप्रसाद गौतमसँग विप्लवको अन्तरविरोध चर्कियो। नियतवश नै उनलाई काठमाडौंबाट कर्णाली हुत्याइयो। पश्चिम कर्णालीमा पुगेपछि पनि विप्लवले जमेर काम गरे। त्यहाँ स्थापित भए। अनि पार्टीको विस्तारित बैठकबाट विप्लव केन्द्रीय समितिमा पुगे।
पार्टी विभाजन पछि मात्रै अन्तर विरोध
जनयुद्धकाल भरि यी दुई नेताबीच देखिने गरी प्रत्यक्ष दुई लाइन संघर्ष नै परेन। शान्तिप्रक्रियामा आएर माओवादी विभाजन पछि भने अदृश्य रूपमा केही अन्तरविरोध देखा पर्यो। तत्काल क्रान्ति अगाडि बढाउनुपर्छ भन्ने सोच र धारणा राख्थे, विप्लव। तर बादल भन्थे, ‘क्रान्ति रोमान्समा हुँदैन, रोमाञ्चकारिता होइन। आज साँझ हिँडे पछि भोलि बिहानै लक्ष्यमा पुगिहाल्ने। यसरी कहाँ हुन्छ क्रान्ति ? ’
एकपटक दुवै नेता अन्य केही नेताका साथ जनयुद्ध दिवस मनाउन रोल्पाको थवाङ जाँदै थिए। भेडीखर्कको खोलामा उनीहरूले वि श्राम लिए। बादल थकित भएर बसिरहेको र विप्लव लट्ठी टेकेर हाँसिरहेको फोटो ९हेर्नुहोस्, तस्बिर० त्यही बेला खिचिएको थियो। विप्लवले त्यसबेला पार्टी अब युवाहरूलाई जिम्मा लगाउने बेला आएको भनी ठट्टा गरेको तस्बिर खिचेका पत्रकार जीवन हमाल बताउँछन्।
‘तपाईं (बादल) जस्ता सिनियरहरूलाई उकाली–ओरालीले समस्या गरायो। अब पार्टी युवाहरूलाई जिम्मा लगाउनु पर्यो, होइन र बादल दाइ ? ’, त्यस बेला विप्लवले त्यसो भन्दा बादल केही बोलेका थिएनन्।
कार्यदिशामा जुहारी
विप्लव र बादलबीच पार्टी कार्यदिशामा विवाद बढे पछि जुहारी चल्थ्यो। आाफ्नै गुटका प्रशिक्षण हुन थालेको थियो। यो २०७१ को जेठतिरको प्रसंग हो। ‘जनयुद्ध खेलौनासँग खेलेजस्तो होइन। कसैले प्रशिक्षण दिँदैमा (विप्लवप्रति लक्षित गर्दै) त्यो सम्भव छैन। दीर्घकालीन रणनीति भन्ने बित्तिकै कोही क्रान्तिबाट भागेको भन्ने होइन’, बादल भन्थे। तर विप्लव जनयुद्धका जगमा पुन : जनयुद्धको निरन्तरता पार्टीको कार्यदिशा बनाउनु पर्ने भन्दै जिल्ला जिल्लामा प्रशिक्षण दिँदै हिँडेका थिए।
तत्काल जनविद्रोहकी आन्दोलन मात्र भन्नेमा विवाद थियो। त्यसबेलादेखि नै विप्लव वैकल्पिक सत्ता, संविधानको खाका र समानान्तर सरकार गठन गर्नु पर्ने पक्षमा थिए। टकराव घुमाउरो पाराले पर्यो। दस्ताबेजका हिसाबले किरण र विप्लवकै बीचमा अन्तरसंघर्ष चर्कियो, व्यवहारमा भने टकराव विप्लव र बादलकै बीचमा देखिने गरेको क्रान्तिकारी माओवादीका नेता कुमार शाह बताउँछन्। जुन कुरा पार्टी बैठकलाई सम्बोधन गर्ने बेलामा पनि विप्लवले देखाउँथे। विप्लव भन्थे, ‘दाइहरूले। (दाइहरू भनेपछि किरण र बादल दुवै पर्थे) ले अघि बढ्ने आँट गर्नुभएन।
दुवैसँग संगत गरेका नेताहरूका अनुसार, नेकपा–माओवादीमा रहँदा अनौपचारिक छलफलका क्रममा विप्लव बादललाई भन्थे, ‘भ्याली छाडेर क्रान्ति गरौं।’ बादल भन्थे, ‘भ्याली छोडेर कहाँ जाने ? ’ विप्लव भन्थे, ‘थवाङ। आधार इलाका बनाउने।’ तर त्यहाँबाट कहाँ जाने ? बादल प्रश्नमाथि प्रश्न गर्थे।
पार्टीमा पनि भने जस्तो हैसियत आफूलाई दिएनन् भन्ने विप्लवलाई रहिरह्यो। एकीकृत माओवादी विभाजन पछि यी दुई नेताका बीचमा मोहन वैद्य (किरण) लाई पार्टी संरक्षक बनाउन अनौठो साँठगाँठ पनि देखिएको थियो। बादल अध्यक्ष बन्ने, विप्लव महासचिव बन्ने र मोहन वैद्यलाई पार्टी संरक्षक बनाउने। उनीहरूका योजना यस्ता पनि थिए। आफूहरू दुई ९बादल, विप्लव० को सेट बनाउने तयारी थियो उनीहरूको।
तर वैद्यलाई संरक्षकमा लैजान अन्य नेताकार्यकर्ताले नदिने, वैद्य संरक्षक नगई बादलले महासचिव नछोड्ने भए पछि विप्लवलाई आफूलाई हैसियत नदिएको भन्ने लागिरह्यो। तर उनले प्रत्यक्ष देखिने गरी देखाउन चाहेनन्। पछि किरणसँग पहिले विप्लवले सम्बन्ध–विच्छेद गरेर नयाँ पार्टी बनाएर निस्किए, त्यसपछि बादलहरू प्रचण्ड तिरै फर्किए। यी दुईको बाटो विल्कुलै फरक हुन पुग्यो। विप्लव अझै क्रान्तिको चरणतिर बादलहरू प्रचण्ड तिर हुँदा हुँदै सत्ता तिर।
अनिल शर्मा कारबाहीमा चर्काचर्की
वैद्य नेतृत्वको माओवादीमा पार्टी नेता अनिल शर्माको एउटा वक्तव्यलाई लिएर चर्को विवाद भयो। शर्माले चितवन पार्टी कार्यालय विवादका विषयमा तत्कालीन एमाओवादीका नेतासँग बसेर संयुक्त वक्तव्य दिएका थिए। तर बादलले नेतृत्व विरुद्ध अनर्गल प्रचार गरेको भन्दै वक्तव्य नै निकालेर शर्मालाई २०७१ भदौ २२ मा पार्टीबाटै अनिश्चितकालका लागि निलम्बन गरिदिए।
त्यस पछि भने बादल–विप्लव चर्काचर्की नै परेको एक नेता बताउँछन्। त्यस पछि विप्लवले पनि बादलको निलम्बनको वक्तव्यलाई खारेज गरिएको भन्दै अर्को वक्तव्य दिए २४ वैशाखमा। विप्लवले अनिल शर्मामाथि अनुशासनहीनको आरोप लगाउँदै महासचिव बादलले कारबाहीका नाममा निकालेको वक्तव्य कुनै कमिटीको निर्णय नभएको साथै पार्टी पद्धति विपरीत भएकाले उक्त निर्णयप्रति असहमत रहेको जनाउँदै वक्तव्य दिएका थिए।
त्यस पछि भने देखिँदा किरण र विप्लवबीचको संघर्ष जस्तो तर अदृश्य रूपमा बादल र विप्लवकै द्वन्द्व बढ्यो। विप्लव पार्टी नै छोडेर आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाउन लागे। अहिले त्यही पार्टी बादलकै ठाडो प्रस्तावमा मन्त्रिपरिषद्ले प्रतिबन्ध लगाएको छ।
कुनै समय एकै स्कुलिङवाट हुर्किएका यी दुई नेताबीच थप द्वन्द्व चर्किने देखिएको छ। प्रतिबन्ध पछि विप्लवले प्रतिक्रिया दिएका छन्, ‘केपी–बादल कम्पनीले दमन गरेमा त्यसको मुखतोड प्रतिरोध गर्छौं। हेरौं अब यी दुईको सम्बन्ध कुन ढंगले थप अगाडि बढ्छ ? ’अन्तत : यी दुईको सम्बन्ध अब झन् नजीक हुन्छ की टाढा कसरी सम्बन्ध विस्तार गर्लान त?




























