सलाहको कीर्तिमानमा लिभरपुलको पुनरागमन
वि.सं.२०७५ चैत २३ शनिवार १४:०९
shares

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा उपाधि भिडन्तमा रहेको लिभरपुल मोहम्मद सलाहको कीर्तिमानी गोलमा विजयी भएको छ। सलाहले सर्वाधिक कम खेलमा लिभरपुलका लागि ५० गोल गर्दै नयाँ कीर्तिमान कायम गरे। प्रिमियर लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा लिभरपुलले साउथ ह्याम्पटनमाथि ३–१ को महत्त्वपूर्ण जित निकाल्दै सिटीमाथिको दबाबलाई कायम राखेको छ। लिभरपुलको जितमा मोहम्मद सलाह, नावी केइटा र जोर्डन हेन्डरसनले गोल गरे। साउथ ह्याम्पटनका साने लङले गोल गरे।
लिभरपुल एक गोलले पछि परेको स्थिति उल्ट्याएर महत्त्वपूर्ण तीन अंक जोड्न सफल भयो। खेलको नवौं मिनेटमा साने लङले पिएरे इमिलको पासलाई सदुपयोग गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, उसको अग्रतालाई लामो समय टिक्न लिभरपुलले दिएन। ३६औं मिनेटमा नावी केइटाले गोल गरे पछि लिभरपुल खेलमा फर्कियो।
पहिलो हाफ १–१ को बराबरी भए पनि दोस्रो हाफको अन्ततिर लिभरपुल लगालग दुई गोल गर्न सफल भयो। ८०औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुलले खेलमा २–१ को अग्रता बनायो। यससँगै सलाह लिभरपुलका लागि छिटो ५० गोल पूरा गर्ने खेलाडी बनेका छन्। उनले फर्नान्डो टोरेसको कीर्तिमानलाई तोडे। सलाहले ६९ खेलमा ५० गोल गर्न सफल भएका छन्।
यस अघि टोरेसले ७२ खेलमा ५० गोलको आँकडा पार गरेका थिए। लुइस स्वारेजले ८६ तथा रोवी फोलेर ८६ खेलमा ५० गोल गरेका छन्। ८६ औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई ३–१ को अवस्थामा पुर्याएर हेन्डरसनले २०१७ पछि लिभरपलुका लागि पहिलो गोल गरे। जितसँगै लिभरपुल पुन : लिगको शीर्ष स्थानमा उक्लिएको छ। लिभरपुलको ३३ खेलबाट ८२ अंक पुगेको छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ८० अंक रहेको छ। प्रिमियर लिगमा अब पाँच खेल मात्रै बाँकी रहँदा उपाधि होड थप रोमाञ्चक बनेको छ।














