विप्लव समूहको निगरानी गर्नुस् : रक्षामन्त्री पोखरेल
वि.सं.२०७५ चैत २८ बिहीवार ११:०८
shares

इलाम । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अब मुलुकमा कुनै पनि शक्तिले दादागिरी गर्छु भन्ने सोंच नराख्न चेतावनी दिएका छन्। उनले सरकार सबैखाले दादागिरी नियन्त्रणमा अडिग रहेको बताउँदै नागरिकको पक्षमा सरकार सँधै सचेत रहेको बताएका छन्।
शहीद रत्नकुमार वान्तवाको ४० औं स्मृति दिवसका अवसरमा माङ्सेबुङ गाउँपालिकाको इभाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाल नेत्रबिक्रम चन्द (बिप्लव) समूहको गतिविधिबारे सबै सचेत हुनु पर्ने बताए। उनले विप्लव समूहको निगरानी गर्न समेत सबैलाई आग्रह गरे।
सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएका कारण धेरै नेता तथा कार्यकर्ता पक्राउ परिसकेको बताउँदै उनले केही नकारात्मक गतिविधिबारे थाहा पाए प्रहरीलाई खबर गर्न समेत नागरिकलाई आग्रह गरे।
यस्तै सरकारले देशलाई समृद्ध पार्न खोजि रहेको समयमा यस्ता शक्तिले अवरोध गर्ने प्रयास निरन्तर गरिरहेको प्रति उनले दुःख व्यक्त गरे। एक फरक प्रसङ्गमा उनले इलामको माङ्सेबुङ पर्यटकीयस्थल भएकाले यसको मुहार फेर्न सरकार लागि पर्ने बताउँदै अब विकास हुने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
त्यस्तै पूर्व सभामुख तथा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले आफूले चुनाव लड्ने क्षेत्रमा आफू निर्वाचित भएर आए पछि सबै क्षेत्रमा बिजुली बत्तीको पहुँच पुगि सकेको जानकारी गराए। उनले सडक समेत विस्तार भइ सकेको बताउँदै विकास हुन्छ भन्ने पक्षमा नागरिकलाई विश्वस्त बन्न आग्रह गरे।
विस्तार भएका सडकहरु हिँउद–बर्खा नै चल्नसक्ने बनाउन आफूले पहल गरिरहेको समेत उनले बताएका छन्। कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।


















