बेलायती स्वास्थ्यमन्त्रीमा पनि देखियो कोरोना भाइरसको संक्रमण
वि.सं.२०७६ फागुन २८ बुधवार ०९:५०
shares

एजेन्सी।
विश्वभर कोरोना भाईरसको संक्रमणको त्रासले भयावह रुप सिर्जना भईरहेका बेला बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनलाई संक्रमण भएपछि आफ्नै घरको आइसोलेसनमा राखिएको छ ।
कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी हुन् ।
डोरिस कोरोनाभाइरसको संक्रमण भेटिने पहिलो बेलायती सांसद् हुन् ।बीबीसीका अनुसार, आवश्यक सल्लाहपछि निजी घरको आइसोलेसनमा रहेको उनले बताएकी छन् । उनले पछिल्लो समय आफूले भेटघाट गरेका मानिसहरुको पहिचान गर्न सुरु गरिएको जानकारी पनि दिएकी छन् ।
६२ वर्षीया मन्त्री डोरिसको करियर नर्सबाट सुरु भएको थियो ।चीन उद्गम भएर फैलिएको कोरोना बेलायतमा पनि फैलँदो अवस्थामा छ । यहाँ अहिलेसम्म कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको छ । भर्खंरै मात्र एक ८० वर्षीय वृद्धको मृत्यु भएको थियो । ३ सय ८२ जनामा कोरोनाको लक्षण देखिएको छ ।































