लकडाउनको ७७औँ दिन : उपत्यकामा मानिसको चहलपहल बढ्दै
वि.सं.२०७७ जेठ २६ सोमवार १५:१२
shares

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ७७ दिन पुगेको छ । गत चैत ११ गते देखि शुरु भएको लकडाउन खुकुलो बन्दै गएको छ ।

सरकारले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेपनि मोडालिटी तयार पार्न नसक्दा सर्वसाधारण स्वतः सफुर्त रुपमा घर बाहिर निस्किएका छन् । सोमबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारी साधनको आवागमन बाक्लो देखिएको छ । मुख्य सडकहरुमा निजी सवारी साधनहरुको चाप उच्च देखिएको छ । सार्वजनिक सवारी साधन भने सञ्चालनमा आएका छैनन् ।

प्रहरीले सवारी जाँचलाई खुकुलो बनाएको छ । सडकमा मानिसहरुको आवागमन पनि बाक्लिदै गएको छ । काठमाडौंमा अधिकांश कार्यालय र उद्योग व्यवसाय सञ्चालनमा आएका छन् । न्यूरोड, भोटेबहाल, इन्द्रचोक लगायतका ठाउँमा रहेका अधिकांश पसलहरु बिहानको समयमा खुलेका छन् । सरकारले लकडाउनको मोडालिटी तय गर्न नसकेको भन्दै व्यवसायीहरुले पसल सञ्चालन गर्ने निर्णय गरेका थिए ।

लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा आइतबार उच्च स्तरीय समन्वय समितिमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा छलफल भएपनि कुनै ठोस निर्णय हुन सकेन । सरकारले लकडाउनका विषयमा अझै निर्णय गर्न नसक्दा सबैमा लकडाउनको अन्यौलता दखिएको छ । संक्रमितको संख्या पनि बढ्दै जाने र सरकारले लकडाउनको मोडालिटीका बारेमा कुनै निर्णय गर्न नसक्दा थप त्रास र चिन्ता बढेको छ ।

संक्रमितको संखया दिनानुदिन बढ्दै जानु तर लकडाउन खुकुलो हुनुले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पर्ने अधिकारकर्मीहरूको विश्लेषण रहेको छ । तर व्यवसायी तथा उद्योगीहरू भने व्यवसाय नै धरापमा पर्ने भएकाले लकडाउन खुकुलो पारेर व्यवसाय खोल्नुपर्नेमा जोड दिएका छन् ।





























