अमेरिकाले सार्वजनिक गर्‍यो ‘न्यु गाजा’ गुरुयोजना

१८० गगनचुम्बी भवन, २१ लाखका लागि नयाँ सहर, रफाहबाट पुनर्निर्माण सुरु हुने

2.28K
shares

दाभोस । युद्धबाट तहसनहस भएको प्यालेस्टिनी क्षेत्र गाजालाई पूर्ण रूपमा नयाँ स्वरूपमा विकास गर्ने अमेरिकी योजना सार्वजनिक भएको छ । स्विट्जरल्याण्डको दाभोसमा जारी विश्व आर्थिक मञ्चको बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बद्ध ‘बोर्ड अफ पिस’ ले गाजाको पुनर्निर्माणसम्बन्धी विस्तृत अवधारणा र प्रारम्भिक नक्सा प्रस्तुत गरेको हो ।

प्रस्तावित योजनाअनुसार भूमध्य सागरको तटीय क्षेत्रमा १८० वटा अग्ला भवन निर्माण गरिनेछ भने रफाह क्षेत्रमा ठूला आवासीय कम्प्लेक्स विकास गरिनेछ । करिब २१ लाख जनसङ्ख्यालाई समेट्ने गरी नयाँ आवास क्षेत्र, कृषि क्षेत्र र औद्योगिक जोन विस्तार गर्ने लक्ष्य राखिएको छ ।

दाभोसमा बोल्दै ट्रम्पले गाजाको भौगोलिक अवस्थालाई आर्थिक दृष्टिले अत्यन्तै सम्भावनायुक्त भन्दै यसलाई आधुनिक सहरको रूपमा विकास गर्न सकिने बताए । उनका अनुसार समुद्र किनारको क्षेत्रलाई विश्वस्तरीय सहरमा रूपान्तरण गर्ने योजना बनाइएको छ ।

यस योजनाका मुख्य योजनाकारमध्ये एक जारेड कुश्नरले गाजामा करिब ६ करोड टन भग्नावशेष हटाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै अब क्षेत्रलाई नयाँ ढङ्गले विकास गरिने बताए । उनका अनुसार हमास निःशस्त्रीकरणको प्रक्रियामा सहमति भइसकेकाले गाजालाई छुट्टाछुट्टै भागमा होइन, एउटै एकीकृत परियोजनाका रूपमा अघि बढाइनेछ ।

प्रस्तावित मास्टर प्लानमा पर्यटन क्षेत्र, औद्योगिक केन्द्र, डाटा सेन्टर र अत्याधुनिक उत्पादन क्षेत्रका लागि अलग–अलग जोन तोकिएका छन् । इजिप्ट नजिक नयाँ बन्दरगाह र विमानस्थल निर्माण गर्ने तथा इजिप्ट र इजरायलको सीमामा जोडिने स्थानमा त्रिपक्षीय नाका स्थापना गर्ने योजना पनि समेटिएको छ । पुनर्निर्माणको काम रफाहबाट सुरु भई चरणबद्ध रूपमा उत्तरतर्फ गाजा सहरसम्म विस्तार गरिने बताइएको छ ।

तर योजनामा सुरक्षा पक्षलाई पनि विशेष महत्त्व दिइएको छ । इजरायल र इजिप्टको सीमाक्षेत्रमा एक प्रकारको ‘सुरक्षा क्षेत्र’ कायम राखिने र गाजा पूर्ण रूपमा सुरक्षित नभएसम्म इजरायली सेनाको उपस्थिति रहने उल्लेख गरिएको छ ।