बिजनेस भिसामा १३ वर्ष नेपाल बसेर अध्यापन, एक चिनियाँ पक्राउ

2.99K
shares

काठमाडौं । बिजनेस (व्यावसायिक) भिसामा १३ पटकसम्म नेपाल आएका एक चिनियाँ नागरिक १३ वर्षदेखि नेपालमा अवैध रूपमा बसोबास गर्दै आएको खुलासा भएको छ।

अध्यागमन विभागले ठमेलको पकनाजोलबाट चिनियाँ नागरिक झाउ साओगाङलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनले बिजनेस भिसामा नेपाल आए पनि कुनै पनि व्यापार–व्यवसाय नगरी बसोबास गरेको र अवैध रूपमा विद्यालयहरूमा अध्यापनसमेत गरेको भेटिएको हो।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ती चिनियाँ नागरिक सन् २०१२ मा पहिलो पटक पर्यटक भिसामा नेपाल आएका थिए। त्यसपछि उनी १३ पटकसम्म बिजनेस भिसामा नेपाल आएको देखिए पनि नेपालमा कुनै पनि वास्तविक लगानी वा व्यापार गरेको प्रमाण भेटिएको छैन।

पर्यटक तथा बिजनेस भिसामा आएका विदेशी नागरिकले अध्यापन गर्न नपाउने कानुनी व्यवस्था भए पनि उनले विगत चार वर्षदेखि विभिन्न विद्यालय र शिक्षण संस्थामा चिनियाँ भाषा पढाउँदै आएको पाइएको छ।

अनुसन्धानका क्रममा साओगाङले नेपालमा ६ वटा कम्पनी दर्ता गराएको खुलेको छ। ती कम्पनीहरू उद्योग मन्त्रालयको सिफारिसमा दर्ता भएका थिए। दर्ता गरिएका कम्पनीहरूमा यान सुपिङ होटल एन्ड रेस्टुरेन्ट प्रालि, होटल विथ रेस्टुरेन्ट यान, झोङ विन इन्टरनेसनल कार्गो कम्पनी, मो यिङ होटल विथ रेस्टुरेन्ट, स्प्रिट मंकी इन्फरमेसन टेक्नोलोजी र शाव जिअसुन विथ रेस्टुरेन्ट रहेका छन्।

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार ती कम्पनीहरू देखाएर उनले पटक–पटक बिजनेस भिसा नवीकरण गराएका थिए। तर ती कम्पनीहरू सञ्चालनमा रहेको, कर तिरेको वा कुनै कारोबार गरेको प्रमाण भने भेटिएको छैन।

‘बिजनेस भिसा लिनकै लागि कम्पनी दर्ता गरिएको देखियो, तर लगानी र कारोबार केही पनि छैन,’ प्रवक्ता ढकालले भने।

साओगाङ ठमेलस्थित फेमली पिस होटलमा मासिक २० हजार रुपैयाँ भाडा तिरेर बस्दै आएका थिए। उनले काठमाडौं र आसपासका केही विद्यालय तथा गुम्बाहरूमा चिनियाँ भाषा र गीत पढाउने गरेको पाइएको छ।

सन् २०२२ मा उनले काठमाडौं महानगरपालिका–७ चुच्चेपाटीस्थित इलाइट ग्रान्ड स्कुलमा ६ महिना चिनियाँ भाषा पढाएका थिए। त्यसैगरी बौद्धको ग्याङचेन सामलिङ स्कुल र स्वयम्भूस्थित न्यानाङ फेल्गे लिङ मनस्ट्रीमा पनि अध्यापन गरेको भेटिएको छ।

यही क्रममा अध्यागमन विभागले क्रिश्चियन धर्म प्रचारप्रसारमा संलग्न रहेको आरोपमा एक अमेरिकन नागरिकलाई पनि पक्राउ गरेको छ। ती अमेरिकनले सिन्धुपाल्चोकको साँगाचोकगढीमा क्यालभरी सर्भिस सेन्टर प्रालि स्थापना गरी गोदावरी क्षेत्रमा घर भाडामा लिएर धर्मसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको पाइएको छ।

उनले अवैध रूपमा सञ्चालन गरेको बालगृहमा १२ जना बालबालिकालाई राखी धर्म प्रचारमा प्रयोग गरेकोसमेत खुलेको छ।

अध्यागमन विभागका अनुसार पछिल्लो ६ महिनामा भिसाविपरीत गतिविधि गर्ने ३०० जना विदेशी नागरिक निष्काशित गरिएका छन्। काठमाडौं, ललितपुर, इलाम, संखुवासभा, पोखरा, नेपालगञ्ज, वीरगञ्ज, दोलखा, मुस्ताङ, चितवनलगायत ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिई निष्कासन गरिएको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083