वायु प्रदूषण बढ्यो : अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

1.77K
shares

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

मन्त्रालयले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चेतावनी दिँदै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार काठमाडौं, पोखरा, विराटनगरलगायत तराईका विभिन्न क्षेत्रको हावामा हानिकारक पर्टिकुलेट म्याटर (पीएम २.५) को मात्रा उल्लेख्य रूपमा बढेको छ। उनका अनुसार श्वासप्रश्वास र छालामार्फत शरीरभित्र प्रवेश गर्ने यी सूक्ष्म कणहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्छन्।

मन्त्रालयका अनुसार प्रदूषणको असर विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीहरूमा बढी पर्ने भएकाले उनीहरूले विशेष सावधानी अपनाउनुपर्नेछ। वायु प्रदूषणका कारण आँखा दुख्ने, पाक्ने, दृष्टिमा समस्या देखिनेदेखि लिएर मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी गम्भीर रोग तथा क्यान्सरसम्मको जोखिम हुन सक्ने मन्त्रालयले जनाएको छ।

प्रदूषणबाट बच्न मन्त्रालयले विशेषगरी बिहान र बेलुकाको समयमा घरबाहिर ननिस्कन सुझाव दिएको छ। बिहान र साँझको समयमा हानिकारक कणहरू वायुमण्डलको तल्लो तहमा जम्मा हुने भएकाले सो समयमा मर्निङ वाक वा इभिनिङ वाक नगर्न आग्रह गरिएको हो।

बाहिर निस्कनै परेमा अनिवार्य रूपमा मास्क प्रयोग गर्न, आँखा जोगाउन चस्मा लगाउन र छालालाई प्रदूषणबाट जोगाउन शरीर पूरै ढाकिने कपडा तथा टोपी प्रयोग गर्न मन्त्रालयले सुझाव दिएको छ।