सुनको भाउ तोलामा साढे ६ हजार घट्यो

एक सातामै ३४ हजार सस्तियो

2.22K
shares

९ चैत,काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा तीव्र गिरावट देखिएको छ। सोमबार सुनको भाउ प्रतितोला ६ हजार ५ सय रुपैयाँले घट्दै २ लाख ७५ हजार ५ सय रुपैयाँमा झरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको सुन एकै दिनमा उल्लेख्य रूपमा सस्तो भएको हो। यसअघि आइतबार पनि सुनको भाउ १२ हजार ५ सय रुपैयाँले घटेको थियो।

एक साताको अवधिमा सुनको भाउ कुल ३४ हजार रुपैयाँले घटिसकेको छ। गत सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा विकसित घटनाक्रमले पनि सुनको मूल्यमा दबाब परेको देखिन्छ। पश्चिम एसियाली क्षेत्रमा बढ्दो द्वन्द्वका कारण कच्चा तेलको मूल्य उकालो लाग्दा अमेरिकी डलरको माग बढेको छ। डलर बलियो बन्दा लगानीकर्ताहरू सुन बिक्रीतर्फ आकर्षित हुँदा यसको मूल्य घट्न पुगेको विश्लेषण गरिएको छ।

त्यसैगरी, विश्व बजारमा महँगी बढ्ने दबाबसँगै ब्याजदर वृद्धि हुने सम्भावनाले पनि सुन तथा चाँदीमा लगानी घटाएको छ।

यता, चाँदीको भाउ पनि घटेको छ। सोमबार चाँदी प्रतितोला ११५ रुपैयाँले घट्दै ४ हजार ४२५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083