सुहाङ नेम्बाङद्वारा एमाले संसदीय दलको नेतामा दाबी

507
shares

काठमाडौं। नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पार्टीको संसदीय दलको नेतामा औपचारिक दाबी प्रस्तुत गरेका छन् । च्यासलस्थित पार्टी कार्यालयमा आज बसेको संसदीय दलको बैठकमा उनले आफ्नो दाबी सार्वजनिक गरेका हुन् ।

बैठकमा बोल्दै नेम्बाङले वर्तमान राजनीतिक परिवेशमा युवा नेतृत्वको आवश्यकता औंल्याए । पार्टीको विधि, पद्धति र वरिष्ठताको सम्मान गर्दै पनि समयअनुसार परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो ।

‘अहिलेको जनभावना, देशको आवश्यकता र पार्टीले अवलम्बन गरेको प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने सिद्धान्तअनुसार म आफ्नो इच्छा व्यक्त गर्दछु,’ नेम्बाङको भनाइ उद्धृत गर्दै एक नेताले बताए ।

उनले देशको समसामयिक अवस्थालाई गम्भीर रूपमा मूल्यांकन गर्न नेताहरूलाई आग्रह गर्दै वर्तमान परिस्थितिअनुसार निर्णय लिनुपर्ने धारणा राखे । ‘सदन र सदन बाहिरको अवस्थालाई हामीले बुझ्न जरुरी छ,’ उनले भने ।

नेम्बाङले आफ्नो दाबीलाई अग्रज नेतृत्वको अस्वीकार नभई सहकार्यको प्रस्तावका रूपमा व्याख्या गरे । ‘मेरो भनाइ अग्रजले गर्न सक्नुहुन्न भन्ने होइन । अहिलेको आवश्यकता युवाको ऊर्जा र अग्रजको अनुभव तथा आशिर्वादको संयोजन हो,’ उनले स्पष्ट पारे ।

यसअघि सिंहदरबारमा सांसद पदको शपथ ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदीय दलको नेता बन्न आफू तयार रहेको बताएका थिए । ‘पार्टीले जिम्मेवारी दियो भने म पछि हट्दिनँ,’ उनले भनेका थिए ।