पुराना दलमा जनताको असन्तुष्टिबाट नयाँ शक्तिको उदय: वर्षमान पुन
वि.सं.२०८३ वैशाख १३ आइतवार १९:२४
shares

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन (अनन्त)ले देशमा नयाँ राजनीतिक शक्तिहरूको उदय हुनुमा पुराना दलहरूको कमजोरी मुख्य कारण रहेको बताएका छन्। उनले जनताको असन्तुष्टि किन बढ्यो भन्ने विषयमा गम्भीर रूपमा समीक्षा नगरेसम्म पुराना दलप्रति विश्वास फर्कन नसक्ने बताएका छन्।
१७३औँ विश्व मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लामो समयदेखि सत्तामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र जस्ता दलहरूले आफ्ना कमजोरी स्वीकार गर्नुपर्ने बताए।
उनका अनुसार, यही कमजोरीका कारण राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता नयाँ दलहरू अघि आएका हुन्।
पुनले भने, “पुराना दल र नेताहरूको आलोचना हुँदा जनता किन खुसी हुन्छन् भन्ने कुरा हामीले गम्भीर रूपमा बुझ्नुपर्छ।” उनले नागरिक अधिकार कमजोर हुँदा पनि जनतामा असन्तुष्टि नदेखिनु चिन्ताजनक भएको उल्लेख गरे।
उनले विद्यार्थी, मजदुर, कर्मचारी र शिक्षक संगठनहरूको प्रभावकारी परिचालनमा कमजोरी देखिएको स्वीकार्दै दलहरूले आफ्नो काम गर्ने तरिका सुधार गर्नुपर्ने बताए।
पुनले विश्व राजनीतिमा देखिएको प्रवृत्ति अनुसार उदार लोकतन्त्र कमजोर बन्दा लोकप्रियतावाद बढेको र त्यसको असर नेपालमा पनि परेको बताए।
उनले पुराना दलहरूले आफ्ना कमजोरी सच्याएर जनताको विश्वास जित्न नसके भविष्यमा झन् कठिन अवस्था आउने चेतावनी दिए।














