बल्खु–वंशीघाटमा सुकुमवासी बस्ती खाली हुँदै
वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:५१
shares

काठमाडौं । प्रशासनको निर्देशनपछि राजधानीका नदी किनारामा बसोबास गर्दै आएका सुकुमवासीहरूले बस्ती खाली गर्न थालेका छन्। विशेषगरी बल्खु र वंशीघाट क्षेत्रका बासिन्दाहरू बिहीबार बिहानैदेखि घरायसी सामग्री सार्न व्यस्त देखिएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले १८ वैशाख बिहान ७ बजेदेखि नदी किनारका बस्ती हटाउने निर्णय सार्वजनिक गरेपछि स्थानीयहरू आफैं सक्रिय भएर स्थान खाली गर्न थालेका हुन्। प्रशासनले यसलाई व्यवस्थित र मानवीय ढंगबाट कार्यान्वयन गर्ने बताएको छ।
सूचनामा नदी किनारमा वर्षौंदेखि अनाधिकृत रूपमा बसोबास गर्दै आएका बस्तीहरू विपद जोखिमको दृष्टिले समेत असुरक्षित रहेको उल्लेख गरिएको छ। साथै सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरेर बसोबास गरिएका संरचनाहरू हटाउनुपर्ने आवश्यकता औंल्याइएको छ।
यसअघि पनि थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा क्षेत्रका यस्तै बस्तीहरू हटाइसकिएको थियो। पछिल्लो कदमसँगै काठमाडौं उपत्यकामा नदी किनार अतिक्रमण नियन्त्रण अभियानलाई तीव्रता दिइएको देखिन्छ।
बस्ती हटाउने प्रक्रिया अघि बढेसँगै प्रभावित परिवारहरूको पुनर्स्थापना र व्यवस्थापन कसरी गरिने भन्ने प्रश्न भने अझै स्पष्ट भइसकेको छैन।














