न्यायालय भय, त्रास र प्रभावबाट मुक्त हुनुपर्छ : महेश बर्तौला

260
shares

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले न्यायालयले भय, त्रास, आश र बाह्य प्रभावबाट मुक्त भई समयमै न्याय सम्पादन गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले न्यायालयले अदम्य साहसका साथ लोकतन्त्र, संविधान र विधिको शासनको रक्षा गर्नुपर्ने उल्लेख गरेका छन्। विगतमा न्यायालयले समयमै संवैधानिक जिम्मेवारी निर्वाह गर्न नसक्दा देशले गम्भीर संवैधानिक विचलन भोग्नुपरेको उनको टिप्पणी छ।

बर्तौलाले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट समयमै टुंगोमा नपुग्नु केवल प्रक्रियागत ढिलाइ मात्र नभई लोकतन्त्र र संविधानमाथिको आक्रमणप्रति न्यायालयको कमजोर उपस्थितिको संकेत भएको बताएका छन्।

उनका अनुसार त्यसको परिणामस्वरूप कार्यपालिकाले दुईतिहाइ शक्तिको आडमा संवैधानिक परिषद्मार्फत न्यायपालिकामाथि नियन्त्रणमुखी निर्णय लाद्ने अवस्था सिर्जना भएको छ। प्रधानन्यायाधीश सिफारिसका क्रममा वरिष्ठताको स्थापित विधि, परम्परा र न्यायिक मर्यादा बेवास्ता गरिएको उनले आरोप लगाए।

बर्तौलाले न्यायालयको वर्तमान अवस्था कुनै एक दिनको परिणाम नभई विगतका मौनता, ढिलासुस्ती तथा आफ्नै स्वतन्त्रता र गरिमा जोगाउन नसक्नुको प्रतिफल भएको उल्लेख गरेका छन्।

उनले लोकतन्त्रमा न्यायालय केवल कानुनी विवाद टुंग्याउने संस्था मात्र नभई संविधान, विधिको शासन र जनविश्वासको अन्तिम संरक्षक भएको भन्दै न्याय सधैं निष्पक्ष, स्वतन्त्र र समयमै प्रवाह हुनुपर्ने बताएका छन्।