कम्युनिस्ट एकताको आधार पुनः खोज्न बाध्य छौं: पुष्पकमल दाहाल प्रचण्ड
वि.सं.२०८३ वैशाख २७ आइतवार १५:१७
shares

२७ वैशाख, काठमाडौं । २६ औँ निर्मल लामा स्मृति सभालाई सम्बोधन गर्दै पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामा उल्लेख्य रहेको बताएका छन्। उनले श्रमजीवि वर्गको हित र कम्युनिस्ट एकताको आधारमा नयाँ राजनीतिक यात्रामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
प्रचण्डले विगतका उपलब्धिहरू मात्र सम्झेर वर्तमान चुनौती सामना गर्न नसकिने उल्लेख गर्दै विचार, राजनीति र संगठनात्मक रूपमा नयाँ ढंगले अघि बढ्ने प्रयास भइरहेको बताए। उनले एक समय कम्युनिस्ट शक्तिहरूको एकीकरणले जनसमर्थन पाएको र निर्वाचनमा झण्डै दुईतिहाइ नजिक पुगेको स्मरण गरे।
उनका अनुसार नेपाली जनताले कम्युनिस्टहरूबीच एकता चाहेको स्पष्ट संकेत दिएका छन्। तर, नेतृत्व तहबाट भएका प्रयासहरू सुदृढ हुन नसक्दा दिगो परिणाम हासिल हुन नसकेको उनले स्वीकार गरे।
प्रचण्डले कम्युनिस्ट आन्दोलनमा एकता र विभाजनका श्रृंखलाहरू दोहोरिँदै आएको उल्लेख गर्दै अहिलेको परिस्थितिमा एकताको आवश्यकता अझ बढी भएको बताए। उनले देशमा बाह्य हस्तक्षेप बढ्दै गएको दाबी गर्दै यसले राष्ट्रलाई अप्ठेरो अवस्थामा पुर्याएको धारणा राखे।
साथै, उनले कम्युनिस्ट आन्दोलन कमजोर पार्ने प्रयासहरू भइरहेको संकेत गर्दै श्रमजीवि वर्गप्रति भएका कमजोरीहरूको समीक्षा गरेर सुधार गर्नुपर्ने आवश्यकता औंल्याए। “हामीले विगतमा जनयुद्ध, जनआन्दोलन र विभिन्न अभियानबाट हासिल गरेको उपलब्धिलाई कायम राख्न अहिले फेरि एकताको आधार खोज्न बाध्य भएका छौं,” उनले भने।

















