नेपाललाई एआई युगमा लैजाने सरकारको घोषणा

65
shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको युगमा प्रवेश गराउने उद्देश्यसहित विशेष कार्यक्रम अघि बढाउने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै एआई प्रविधिलाई आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र डिजिटल सेवासँग जोडेर अघि बढाइने बताएका हुन् ।

सरकारले काठमाडौंको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट स्थापना गर्ने योजना सार्वजनिक गरेको छ । यसका लागि हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरिने बजेटमा उल्लेख छ ।

अर्थमन्त्री वाग्लेले नेपालमा उत्पादन हुने स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यका एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने लक्ष्य राखिएको बताए । उनका अनुसार एआई तथा स्टार्टअप क्षेत्रमा काम गर्ने समूहलाई सहुलियतपूर्ण कम्प्युटिङ सेवा उपलब्ध गराइनेछ ।

सरकारले एआई प्रविधिमार्फत सीपयुक्त जनशक्ति विकास, डिजिटल सेवा निर्यात र नयाँ आर्थिक अवसर सिर्जना गर्ने योजना अघि सारेको छ । ऊर्जा र प्रविधिलाई जोडेर नेपाललाई डिजिटल अर्थतन्त्रतर्फ अघि बढाउने सरकारको लक्ष्य रहेको बताइएको छ ।

यसैगरी, एआई क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा काम गरिरहेका कम्तीमा १५ जना नेपाली अनुसन्धानकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गरी नेपाल फर्काएर योगदान गराउने योजना पनि सरकारले ल्याएको छ ।

सरकारले गणित, कम्प्युटर विज्ञान तथा प्रविधिसँग सम्बन्धित विषयलाई उच्च प्राथमिकतामा राख्दै एआई युगका लागि आवश्यक जनशक्ति तयार गर्ने नीति लिएको जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083