रास्वपाले भदौ १ देखि स्थानीय तहका उम्मेदवार छनोट गर्ने

1.22K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया भदौ १ गतेदेखि सुरु गर्ने भएको छ। उम्मेदवार बन्न इच्छुकले ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन दिन सक्नेछन्।

रास्वपाले योग्य, सक्षम र इमानदार उम्मेदवार छनोट गर्ने उद्देश्यले उम्मेदवार छनोटको नयाँ विधि तय गरेको जनाएको छ। उम्मेदवार छनोटका लागि प्रारम्भिक निर्वाचनलाई मुख्य आधार बनाइएको छ, जसको भार ४० प्रतिशत हुनेछ।

प्रारम्भिक निर्वाचनमा सम्बन्धित पालिकाका पार्टी सदस्यलाई ७५ प्रतिशत, स्थानीय पार्टी संरचनामा सक्रिय सदस्यलाई १५ प्रतिशत र सोही पालिकाका केन्द्रीय सदस्यलाई १० प्रतिशत भारतोकिएको छ।

त्यस्तै, उम्मेदवारले ‘लिडरसिप एकेडेमी’को प्रशिक्षण लिनुपर्नेछ। राजनीतिक संस्कार, नीतिगत स्पष्टता र जनसेवालगायत विषयमा हुने मूल्यांकनको भार २५ प्रतिशत तोकिएको छ। उम्मेदवारको सांगठनिक भूमिका, अनुशासन, लोकप्रियता, निर्वाचन जित्ने सम्भावना, शैक्षिक तथा व्यावसायिक अनुभवलगायत पक्ष समेटिएको ‘पोलिटिकल प्रोक्सिमिटी’को मूल्यांकनलाई पनि २५ प्रतिशत भार दिइएको छ।

समावेशिताको मापदण्ड पूरा गर्ने उम्मेदवारले थप १० प्रतिशत अंक पाउने व्यवस्था गरिएको छ। भदौ १ देखि पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका आकांक्षीका लागि ‘पालिका क्यान्डिडेट क्लब’ तथा वडाध्यक्ष र वडा सदस्यका लागि ‘वडा क्यान्डिडेट क्लब’ खुला गरिनेछ।

आवेदनका क्रममा उम्मेदवारले शैक्षिक योग्यता, आर्थिक अवस्था, कानुनी विवाद, आपराधिक वा डिजिटल अपराधसम्बन्धी विवरणलगायत व्यक्तिगत विवरण खुलाउनुपर्नेछ।

रास्वपाले सदस्यता र दल परिवर्तनसम्बन्धी समयसीमा पनि तोकेको छ। अन्य दलमा नरहेका नयाँ सदस्यले पार्टी सदस्यता लिएको ४५ दिनपछि आवेदन दिन सक्नेछन् भने अन्य दलबाट आएका व्यक्तिले तीन महिना पूरा गरेपछि मात्रै आवेदन दिन पाउनेछन्। प्रतिष्ठित तथा विज्ञ व्यक्तिका लागि भने विशेष प्रक्रियाको व्यवस्था गरिएको छ।

पार्टीले उम्मेदवार छनोट प्रक्रियालाई व्यक्ति केन्द्रित नभई विधि केन्द्रित बनाउने उद्देश्य राखेको जनाएको छ। असाधारण अवस्थामा कार्यविधिभन्दा बाहिर गएर उम्मेदवार छनोट गर्नुपरेमा केन्द्रीय समितिको दुई तिहाइ बहुमतबाट निर्णय गर्नुपर्ने व्यवस्था गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083