कमरेड ओली ज्यू जेट विमान समाजवाद तिर छ कि पुँजीवादीको यात्रामा छ, जवाफ चाहियो’ : रञ्जित तामाङ

7.22K
shares

काठमाडौ । सत्तारुढ दल नेकपा निकट बिद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले पार्टीमा आफूलाई महिषासुर ठान्ने प्रवृत्ति बढेको बताएका छन्। शुक्रबार थापाथलीमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको जेट विमान समाजवादतिर छ कि पुँजीवादीको यात्रामा छ भनी प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका छन्।

शिक्षा‚ स्वास्थ्य क्षेत्रमा दलाललाई पोस्न सरकार लागेको आरोप लगाउँदै उनले भने‚ ‘प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख हेर्दिन भनेको होइन? के गरिरहनु भएको छ? वरिपरि भ्रष्टाचारी नै भ्रष्टाचारी छन् किन देख्नुहुन्न?’ भन्दै प्रश्न गरेका हुन् ।

सोही कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीभित्र कुरामा समाजवाद र व्यवहारमा समान्तवाद देखिएको भन्दै व्यक्तिले पार्टी चलाउने प्रवृत्ति हावी भएको बताए। उनले कम्युनिस्ट पार्टीमा समेत व्यक्ति पुजा गर्ने तर विधि र पद्धति उल्लंघन गर्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरे।

किसान‚ मजदुर‚ श्रमजीवीको मुद्दा‚ अबका दिनमा पार्टी कस्तो बनाउने भन्ने भन्ने विषयमा नेकपामा कम बहस हुन थालेको बताउँदै न्यौपानेले पार्टीभित्र श्रममा बाँच्नेभन्दा मूल्यमा बाँच्ने स्थिति पैदा भएको बताए।

विद्यार्थीहरुको भेलालाई नेकपाका स्थायी कमिटी सदस्य र केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् । भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले भोलि शनिबार सचिवालय बैठक बस्नैपर्ने बताउनुभयो । प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले भाग लिन्न भन्न नपाउने र बैठकमा भाग लिएर निकास दिनुपर्ने दावीसहित उहाँले भन्नुभयो ‘अस्ति म आउँदिन,छलफलमा भाग लिन्न भन्नुभयो । प्रचण्डको प्रतिवेदन पनि मान्दिन भन्नुभयो । यो भन्न उहाँले पाउनुहुन्न ।’

दुईवटा प्रतिवेदन आउँदैमा पार्टी बिग्रहमा गइनसक्ने पनि नेता शाक्यले बताउनुभयो । भोलिको सचिवालयमा संयमताका साथ बहस गर्न नेताहरुलाई आग्रह गरिएको जानकारीसमेत दिनुभयो । भन्नुभयो ‘ अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको दस्तावेज मान्दिन भन्नुभएको हो भने अर्का अध्यक्ष ओलीले प्रतिउत्तर किन दिनुभयो ? लिखित प्रतिउत्तर दिने तर छलफलमा बस्दिन भन्ने ?”

अध्यक्ष ओलीले नै पहल गरेर एकता भएको पार्टीभित्र देखिएका समस्या समाधान गर्दै सबैलाई एक बनाएर लैजाने दायित्व पनि उहाँकै भएको शाक्यको भनाइ थियो । “बैठकबाट भाग्नु लोकतान्त्रिक चरित्र होइन”-शाक्यले यो पनि भन्नुभयो ।

भेलालाई सम्बोधन गर्न पुग्नुभएकी अर्का स्थायी कमिटी सदस्य पम्फा भुसालले पनि शनिबारको बैठकमा अध्यक्ष ओली उपस्थित हुने विश्वास व्यक्त गर्नुभयो । समस्याको समाधान गर्न बैठकमा भाग नलिनेलाई नेतृत्व मान्न नसकिने उहाँको धारणा थियो । उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीले अस्तिको बैठकमा आउन्न भन्नुभएको हो । भोलिको बैठकमा आउनुहुन्न भन्ने लाग्दैन ।

आफैले ३८ पेजको प्रस्ताव पेश गर्नुभएको छ र उहाँसित सम्बन्धित भएर सचिवालयमा अरुले पनि प्रस्ताव राख्नुभएको छ । ती प्रस्तावहरुको छलफलमा सहभागी नबनी त्यसबाट उम्केर समस्याको हल हुन्न । उहाँ आउनुहुन्छ,आउनुपर्छ र छलफल गरेर समस्याको सामना गर्नुपर्छ । समस्याको सामना नगर्ने नेतृत्व हुन सक्दैन ।’