झ्याप्पझ्याप्प बिजुली काटिने समस्या बढ्दै, प्राधिकरण भन्छ : ‘लोडसेडिङ हुँदैन’

7.94K
shares

काठमाडौँ । कुलमान घिसिङले विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाले लगत्तै लोडसेडिङ अन्त्यको घोषणा भएको मुलुकमा पुनः त्यही समस्या देखिएको छ ।

घिसिङको कार्यकाल सकिएर बाहिरिएसँगै उपभोक्ताले बेलाबेलामा पूर्व सूचना बिना नै विद्युत् अवरुद्ध हुने समस्या भोग्न छाडेका छैनन् । लोडशेडिङकै झल्को दिने गरी झ्याप्पझ्याप्प बिजुली काटिने समस्या बढ्दै गएपछि त्यसको विकल्पमा प्रयोग हुने जेनेरेटरको आयात पनि ह्वात्तै बढेको छ । चालू आवको पहिलो ५ महीनामा भन्सारबाट कुल ७०७ थान जेनेरेटर भित्रिएका छन् । अघिल्लो वर्ष १५४ थान मात्र जेनेरेटर भित्रिएको थियो ।

तर, यसैबिच नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङका विषयमा आएका समाचारको पुनः खण्डन गरेको छ । प्राधिकरणले काठमाडौँ उपत्यकालगायत देशका कुनै पनि स्थानमा घोषित वा अघोषितरूपमा विद्युत्भार कटौती नभएको बताएको हो ।

प्राधिकरणले ट्रिपिङको समस्या घट्दै गएको दाबी गरेको छ । विद्युतको माग सबैभन्दा बढी हुने काठमाडौं उपत्यकामा यस वर्षको मंसिरमा ३ सय ४७ पल्ट ट्रिपिङ भएको छ । काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत अवरोध भएको छ । गत वर्षको मंसिरमा ६५ घण्टा विद्युत आपूर्ति बन्द भएको थियो ।

ट्रिपिङको समस्या समाधान गर्न विद्युतको मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार काम भइरहेको प्राधिकरणले जनाएको छ । यसअघि पुष १६ गते पनि विज्ञप्ति जारी गरेर प्राधिकरणले कहीँकतै केही समयका लागि बिजुली काटिएको भए पनि त्यसलाई लोडसेडिङको रूपमा नबुझ्न आग्रह गरेको थियो ।

त्यस्तै, ऊर्जा मन्त्रालयले पनि नेपालमा विद्युत्भार कटौती इतिहास भइसकेको उल्लेख गर्दै कुनै पनि हालतमा त्यसबारेमा सोच्न नसकिने स्पष्ट पारेको छ । मन्त्रालयले भनेको छ, “लोडसेडिङ भन्ने विषय इतिहासमा अध्ययनका विषयमा रुपान्तरित भइसकेको छ ।”