निगमले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने
वि.सं.२०७६ मंसिर २९ आइतवार १२:०८
shares

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने भएको छ ।
निगमको यही मङ्सिर २६ गतेको कार्यकारी समितिको बैठकले हाल उडान गरिरहेको दुई अन्तरराष्ट्रिय गन्तव्यका अतिरिक्त थप दुई गन्तव्यमा उडान शुरु गर्ने निर्णय गरेको हो । दुई सातापछि नेपाल भ्रमण वर्ष शुरु हुँदैछ ।
दशरथ रङ्गशालामा आगामी जनवरी १ (पुस १६ गते) ४० भन्दा बढी देशका पर्यटनमन्त्री र विशिष्ट पाहुनाको उपस्थितिमा भ्रमण वर्षको भव्य शुभारम्मको तयारी भइरहेको छ । भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रवद्र्धनात्मक काम भइरहेको छ । भ्रमण वर्षमा निगमको गन्तव्य विस्तारले सहयोग पुग्ने विश्वास लिइएको छ ।
जापानको नारिता मार्च पहिलो साता र चीनको ग्वाङ्जाओ मार्च दोस्रो सातादेखि उडान गर्ने निगमले आज विज्ञप्तिमार्फत जनाएको हो । यी उडान थपिएपछि पर्यटक सङ्ख्यामा उल्लेखनीय वृद्धि हुनाका साथै पर्यटन क्षेत्रमा राम्रो प्रभाव पर्ने कम्पनीले अपेक्षा गरेको छ ।
निगमले गत भदौ १२ गतेदेखि जापानकै ओसाका कन्साई अन्तरराष्ट्रिय विमानस्थलमा शुरुमा सातामा तीन र पछि सातामा दुई नियमित उडान भर्दै आएको छ । यात्रुको ‘अकुपेन्सी’ बढ्न नसकेपछि भने निगमले जापानको राजधानी टोकियो नजीकको नारिता अन्तरराष्ट्रिय विमानस्थलमा उडान पहलकदमी गरेको थियो । नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई निगमले विशेष प्राथमिकता दिएको छ । यो गन्तव्यमा निगमले वाइड बडी ए ३३०–२०० जहाजमार्फत चार्टर्ड उडान गर्दै आएको छ । नारितामा साताको तीन दिन उडान गर्ने निगमको तयारी छ ।
































