सीईओको तलब–भत्तामा राष्ट्र बैंकको नयाँ मापदण्ड

1.92K
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब, भत्ता तथा अन्य सुविधामा नयाँ मापदण्ड लागू गरेको छ। ‘बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन, २०८३’ जारी गर्दै राष्ट्र बैंकले पारिश्रमिकलाई संस्थाको वित्तीय अवस्था र कार्यसम्पादनसँग जोडेको हो।

मार्गदर्शनअनुसार सीईओको तलब, भत्ता तथा सुविधा निर्धारण गर्न स्वतन्त्र सञ्चालकको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्नुपर्नेछ। समितिको सिफारिसपछि मात्र सञ्चालक समितिले अन्तिम निर्णय गर्न सक्नेछ।

राष्ट्र बैंकले सीईओको पारिश्रमिकलाई निश्चित तलब–भत्ता, कार्यसम्पादनमा आधारित पारिश्रमिक र अन्य सुविधामा वर्गीकरण गरेको छ। कार्यसम्पादनका आधारमा वार्षिक तलब तथा भत्ताको अधिकतम २० प्रतिशतसम्म अतिरिक्त सुविधा दिन सकिने व्यवस्था गरिएको छ।

वाणिज्य बैंकका सीईओलाई कर्मचारी खर्चको २ प्रतिशत वा कुल सम्पत्तिको ०.०१५ प्रतिशतसम्ममध्ये जुन कम हुन्छ, त्यति मात्र तलब–भत्ता दिन पाइनेछ। अन्य वित्तीय संस्थाका लागि पनि छुट्टाछुट्टै सीमा तोकिएको छ।

अन्य सुविधाअन्तर्गत एक मोबाइल फोन, एक ल्यापटप, एक सवारी साधन तथा चालक र इन्धन सुविधा मात्र उपलब्ध गराउन पाइनेछ। तोकिएको सीमाभन्दा बढी सुविधा दिएमा अतिरिक्त रकम सम्बन्धित सीईओ वा निर्णयकर्ताबाट असुलउपर गरिने राष्ट्र बैंकले जनाएको छ।

नयाँ व्यवस्था अब नियुक्त हुने सीईओमा अनिवार्य रूपमा लागू हुनेछ।


divya collage
unigloble collage