बाँकी ३९ अर्ब ६ करोड तिर्न सात दिनको समय
वि.सं.२०७६ वैशाख ४ बुधवार ११:०७
shares

काठमाडौं । ठूला करदाता कार्यालयले एनसेललाई थप ३९ अर्ब ६ करोड रुपैयाँ कर तिर्न ताकेता गरेको छ। कार्यालयले एनसेलको स्वामित्व बिक्रीमा तिर्नु पर्ने कर, शुल्क र ब्याज सहित थप ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार आठ सय १५ रुपैयाँ दाखिला गर्न सात दिनको समयावधि तोकी मंगलबार सूचना जारी गरेको छ।
कार्यालयले आयकर ऐन २०५८ बमोजिम एनसेलको कारोबारको कर निर्धारण गरेको आधारमा यस अघि तिरिसकेको रकमलाई कटाएर बाँकी कर तिर्न भनेको हो। एनसेलले नै पुँजीगत लाभकर तिर्नु पर्ने भनी सवोच्च अदालतले गरेको फैसलाको पूर्ण पाठ आएसँगै कार्यालयले बाँकी करका लागि ताकेता गरेको हो।
एनसेलले यस अघि नै पुँजीगत लाभकरका रुपमा २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार रुपैयाँ तिरिसकेको छ। योसँगै एनसेल खरिद–बिक्रीमा एनसेलले ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५ सय ६६ रुपैयाँ ७१ पैसा तिर्नु पर्ने भएको छ।
एनसेलले यसअघि नै पुँजीगत लाभकरका रुपमा २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार रुपैयाँ तिरिसकेको छ। ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत धनीराम शर्माले एनसेल खरिदबिक्रीमा लाग्ने पुँजीगत लाभकर अन्तर्गत बाँकी कर बुझाउन समय तोकिदिएको बताए। ‘सर्वोच्च अदालतको परमादेश अनुसार एनसेललाई कर निर्धारण गरेका छौं,’ शर्माले नेपालटकसँग भने, ‘एनसेल कारोबारअनुसार लाग्ने कर, शुल्क, ब्याज सहित कर निर्धारण गरिएको छ।’
ठूला करदाता कार्यालयका अनुसार एनसेल कारोबारमा आयकर ऐन २०५८ बमोजिमको २५ प्रतिशतले हुने कर ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार पाँच सय रुपैयाँ थियो। त्यसमा लाग्ने शुल्क १८ अर्ब ३३ करोड सात लाख ३६ हजार निर्धारण गरिएको थियो। त्यस्तै उक्त करमा वैशाख सम्मको ब्याज ८ अर्ब ३९ करोड आठ लाख १२ हजार पुगेको छ।
२०७२ चैत २९ गते स्विडिस कम्पनी टेलिया सोनेराले मलेसियन कम्पनी आक्जियाटालाई एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दा एक खर्ब ४३ अर्ब ६५ करोड ३५ लाख ६ हजार रुपैयाँ पुँजीगत लाभ भएको थियो। विदेशमै भएको उक्त कारोबारमा नेपाल सरकारले पाउनु पर्ने पुँजीगत लाभकर नबुझाई विक्रेता कम्पनी टेलिया सोनेरा बाहिरिएको थियो।
उक्त विवादमा सर्वोच्च अदालतले क्रेता कम्पनी आक्जियाटा र एनसेलले नै उक्त पुँजीगत लाभकर तिर्नु पर्ने फैसला गरेको थियो। एनसेल कारोबार भए पछि ठूला करदाता कार्यालयले २०७४ असार १३ मा सेयर विक्रेता टेलिया सोनेरा स्विडेनको नाममा ६० अर्ब ७१ करोड २४ लाख रुपैयाँ कर निर्धारण गरेको थियो।
टेलिया सोनेराले उक्त कर तिर्न अस्वीकार गरे पछि यो कर एनसेलले नै तिर्नु पर्ने जिकिर गर्दै सर्वोच्चमा मुद्दा परेको थियो। यसको फैसला गत माघ २३ मा आएको थियो। सर्वोच्चले फैसलाको पूर्ण पाठ तयार पारी तीन महिनाभित्र उक्त कर उठाउन परमादेश जारी गरेको थियो।
एनसेल खरिदबिक्रीमा नेपाली साझेदार निरजगोविन्द श्रेष्ठको नाममा रहेको २० प्रतिशत सेयर भावना सिंह प्रधानले खरिद गर्दाको पुँजीगत लाभ करबापत दुई अर्ब ८३ करोड १५ लाख रुपैयाँ २०७२ चैत २९ मा ठूला करदाता कार्यालयमा दाखिला गरिएको थियो।
















