विप्लव समूहलाई मूलधारमा ल्याउने प्रयत्न जारी छ : गृहमन्त्री थापा

6.63K
shares

हेटौंडा । गृहमन्त्री रामबहादुर थापा बादलले नेक्रविक्रम चन्द ‘विप्लव’ समूहलाई मूलधारमा ल्याउने प्रयत्न जारी रहेको बताएका छन्। हेटौंडामा जारी ३ नम्बर प्रदेशस्तरीय सुरक्षा परिषद् बैठकलाई सम्बोधन गर्न हेटौंडा आइ पुगेका गृहमन्त्री थापाले सञ्चारकर्मीसँग कुराकानी गर्दै राज्य र संविधानविरोधी समूहको रुपमा रहेको विप्लव समूहलाई वार्ता र संवादको माध्यमबाट मूलधारमा ल्याउने प्रयत्न जारी रहेको बताएका हुन्।

‘हाम्रो संविधान र कानुनले ध्वंसात्मक गतिविधि गर्न छुट दिएको छैन। संविधान र कानुनले नै यस्ता गतिविधि रोक लगाएको छ। हामीले कानुन अनुसार प्रतिबन्ध गरेका हौं। ध्वंसात्मक, राज्य, कानुन र संविधान विरोधी गर्न कसैलाई छुट छैन। यसलाई प्रतिबन्ध भन्दा पनि कानुन अनुसार चालिएको कदम भनेर बुझ्दा हुन्छ।’ विप्लव नेतृत्वका शीर्ष नेताहरुले संविधान विरोधी क्रियाकलाप गरेकाले नियन्त्रणमा लिइएको उनले दाबी गरे।

गृहमन्त्री थापाले राज्यविरोधी गतिविधि गरेको समयमा सिके राउतलाई पनि नियन्त्रणमा लिएको स्मरण गराए। मन्त्री थापाले देशको सुरक्षा अवस्थालाई सुदृढ गर्नका लागि हेटौंडमा सुरक्षा परिषद्को भेला राखिएको दाबी गरे। ‘आन्तरिक सुरक्षालाई सुदृढ नगरी विकास र समृद्धिलाई सुनिश्चित गर्न सकिँदैन।

त्यस कारण हामी आन्तरिक सुरक्षा सुदृढ बनाउन केन्द्रित छौं।’ उनले संघीय प्रहरी ऐन नबनेको कारण प्रदेश र स्थानीय तहलाई शान्ति सुरक्षाको अधिकार नदिइएको जस्तो देखिएको भए पनि कार्यकारी आदेशबाट उक्त समस्याको समाधान गरिएको बताए।

‘प्रहरी ऐन पारित नहुँदा केही समस्या देखिएको छ। त्यो छिट्टै हल हुन्छ। प्रदेशले संविधान अनुसार पाउनु पर्ने सबै अधिकार कानुन निर्माणसँगै पूरा हुन्छ’, उनले भने।


divya collage
unigloble collage