नेकपा सचिवालय बैठक अनिश्चित
वि.सं.२०७७ वैशाख १६ मंगलवार १२:१३
shares

काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चित भएको छ ।हिजो (सोमबार) पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहबीच अनौपचारिक भेटघाट छलफल हुँदा मङ्गलबार बोलाउने समझदारी भएको थियो ।
तर, प्रधानमन्त्री ओली नयाँ रणनीतिमा केन्द्रित भएको स्रोतले जानकारी दियो । नेपाल पक्षसँग कुनै समझदारी नजुटेपछि गए राति नै प्रधानमन्त्रीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग परामर्श गरेका थिए ।
राणासँग कानुन परामर्श लिएको बालुवाटार स्रोतले जानकारी दियो ।पार्टीका सचिवालय सदस्य झलनाथ खनालले सचिवालय बैठक अनिश्चित भएको बताए ।
“हामी बैठकको प्रतीक्षामा छौं । अहिलेसम्म खबर आएको छैन । आज बस्ने सम्भावना छैन,” खनालले भने ।मङ्गलबारको भेटमा ओली, नेपाल दुवै समूह बैठक बोलाउन तत्पर देखिएका थिए । नेपाल पक्षले बैठक नै समस्याको निकास भएकाले विलम्ब नगर्न ध्यानाकर्षण गराएका थिए ।
ओली समूहले नेताहरूबीच समझदारी जुटेपछि मात्रै बैठक बोलाउँदा प्रभावकारी हुने निष्कर्ष निकालेका थिए । असमझदारी नै असमझदारी लिएर बैठकमा प्रवेश गर्दा त्यसले निकास नदिने ओली निकट नेताहरूको बुझाइ छ ।





























