कर्णालीमा कोरोनाले ३ जनाको मृत्यु

7.15K
shares

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक, एक जना ३५ र २० वर्षीय दुई युवा र ५८ वर्षीय पुरुष छन् ।

कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति दुल्लु नगरपालिका–११ खागितडा दैलेख निवासी ३५ वर्षीय युवक थिए । उनको जेठ १७ गते क्वारेन्टाइनमै मृत्यु भएको थियो ।

त्यस्तै, दोस्रो व्यक्ति पञ्चपुरी नगरपालिका–१ हाँसे सुर्खेतका २० वर्षीय युवक हुन् । उनको जेठ २२ गते कोरोना सक्रमणबाट मृत्यु भएको हो । उनलाई कोरोना संक्रमण नभएको भनेर घर पठाएपछि घरमै मृत्यु भएको थियो ।

कोरोनाको संक्रमणकै कारण जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मङ्गल रावलले कोरोनाकै कारण उनको मृत्यु भएको जानकारी दिनुभयो । भौगोलिक विकटताका कारण मृत्युपछि २२ गते स्वाब सङ्कलन गरी जुम्ला प्रतिष्ठानमा पिसिआर गर्दा कोरोना पुष्टि भएको निर्देशक डा रावलले बताउनुभयो ।

सुर्खेतबाट जेठ १६ गते डोल्पा पुगेका उनलाई शुरुमा क्वारेन्टाइनमा राखिएको थियो । लामो समयदेखि दमको रोगले पीडित उनलाई पछि होम क्वारेन्टाइनमा राखिएको अवस्थामा जेठ २० गते मृत्यु भएको थियो । कर्णालीमा मृत्यु हुने तीनैजनाको मृत्युपछि मात्र कोरोना पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जनाएको छ । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083