आफू अघिल्लो पटक प्रधानमन्त्री भएको बेला पनि चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेलगतै हटाइएको उनले स्मरण गरे । अहिले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको उनले बताए ।उनले भने, ‘नेपालकै नेताहरू लागेका छन् । बहस चलेको छ, अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन ।’
‘चीनतिर सम्झौता गरेर फर्किएपछि सरकार ढलेको थियो किनभने हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान संशोधन भयो, नक्सा जारी भयो । बाहिर भन्न नसक्ने तर भित्रभित्रै यस्तो अपराध गर्ने केपी ओलीलाई …. दिल्लीका सञ्चार माध्यमहरू सुन्नुस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँकहाँ के-के भइरहेको छ । यहाँका होटलहरूमा भइरहेका गतिविधिले पनि देखाइरहेको छ । दूतावासको सक्रियताले पनि देखाउँछ ।’
तर नेपालको नक्सा छापेबापत प्रधानमन्त्रीलाई हटाउने सपना पूरा नहुने उनले बताए । नेपालको आजको रााष्ट्रियता यति कमजोर छैन, कसैले नसोचे पनि हुन्छ …’ उनले भने, ‘कसैले हतारो नगरे हुन्छ, कसैले विभिन्न आग्रह नपाले पनि हुन्छ ।’
प्रधानमन्त्री ओलीले आफूलाई पदमा बसिरहन मन नभएको बताए । तर यसतिबेला आफू हटे भोलिबाट नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने बताए । उनले भनेका छन्, ‘किनकि भोलिपल्ट बर्खास्त हुन्छ । त्यसकारण मैले आजका लागि होइन, भोलिका लागि । आफ्ना लागि होइन, देशका लागि … ।’
आफ्नो पार्टी र संसदीय दल यस्तो बहकावमा नलाग्ने समेत उनले बताएका छन् ।
प्वाइन्ट अफ नो रिटर्न नै हो
नेपालले नयाँ नक्सा प्रकाशित गरेपछि कतिपयले ‘प्वाइन्ट अफ नो रिटर्न’ अर्थात पछाडि फर्किने ठाउँ नै नभएको भनेको उनले सुनाए । उनले भने, ‘प्वाइन्ट अफ नो रिटर्न नै हो । त्यहाँ प्वाइन्ट अफ रिटर्न राख्नै कुरै थिएन । हामीलाई हाम्रो भूमि चाहियो ।’अनलाईनखबर
















