सिन्धुपाल्चोकमा युवराज दुलाल (शरद)को उम्मेद्वारीले थपेको उत्साह

4.21K
shares

काठमाडौं ।आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा युवराज दुलाल (शरद)लाई उम्मेद्वारका रूपमा अघि सारे पछि सिन्धुपाल्चोक बासीमा उत्साह थपेको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार दुलाललाई टिकट दिएका हुन्। निर्वाचन २१ फागुनमा हुने तय भएको छ भने उम्मेद्वारी मनोनयन दर्ता माघ ६ गतेका लागि तोकिएको छ।

चौतारा साँगाचोकगढी नगरपालिकाका स्थायी बासिन्दा दुलाल हाल बागमती प्रदेशसभा सदस्यसमेत हुन्। उनले यही क्षेत्रबाट दुई पटक प्रदेशसभा सदस्यमा विजयी हुँदै निरन्तर राजनीतिक उपस्थिति जनाउँदै आएका छन्। २०७४ र २०७९ को निर्वाचनमा सिन्धुपाल्चोक २ (क) बाट चुनाव जितेका उनी आठ वर्षसम्म प्रदेश सरकारमा विभिन्न जिम्मेवारीमा रहे।

प्रदेश राजनीतिमा सक्रिय दुलालले २०७४ देखि २०७७ सम्म सामाजिक विकास मन्त्रालयको नेतृत्व गरे भने २०७९ देखि २०८१ सम्म भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हाले। यस अवधिमा उनी सरकारका प्रभावशाली मन्त्रीका रूपमा चिनिएका थिए।

सिन्धुपाल्चोक–२ मा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका मोहन बस्नेत प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। तत्कालीन माओवादीसँगको सहकार्यमा उनी संसद् पुगे पनि क्षेत्र परिवर्तन गरेर उम्मेद्वार बनेको र अपेक्षित विकास गतिविधि अघि बढाउन नसकेको आरोप खेप्दै आएका छन्।

यसपटक एमालेले भने सोही क्षेत्रमा शेरबहादुर तामाङलाई उम्मेद्वार बनाएको छ। तामाङ यसअघि बस्नेतसँगै प्रतिस्पर्धामा पराजित भएका व्यक्ति हुन्।

उता, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपाले माधवप्रसाद सापकोटा (सुवोध)लाई टिकट दिएको छ। जेनजी आन्दोलनपछिको राजनीतिक उतारचढावका क्रममा विघटित प्रतिनिधि सभा सदस्य रहेका सापकोटा पुनः संसद् फर्कने प्रयासमा छन्।

यसरी सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा प्रमुख दलहरूले अनुभवी र परिचित अनुहार अघि सारेपछि आगामी निर्वाचन प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083