गन्तव्यबिहिन बिद्यार्थी संगठन
वि.सं.२०८० जेठ ३२ बिहीवार १६:४९
shares

भुमिराज अधिकारी
वर्तमान अवस्थामा बिद्यार्थी संगठनहरु गन्तव्यबिहिन, एजेण्डा बिहिन हुदै आएका छन् । नेपाली विद्यार्थीको अधिकार संरक्षणका लागि खुलेको दाबी गर्ने नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियू (क्रान्तिकारी) लगायतका कुनै पनि विद्यार्थी संगठनले पछिल्लो समय विद्यार्थीको हक अधिकारको बारेमा खासै आवाज उठाएको देखिदैन । विद्यार्थी संगठनहरु बिद्यार्थीको पक्षमा नउभिए पछि संगठनमाथि नै बिभिन्न प्रकारका प्रश्नहरु उठ्न थालेको छ ।
२०३६ र २०४६ को आन्दोलनमा उभार ल्याउन विद्यार्थीले जुन भूमिका निर्वाह गरे, उपलब्धिका निम्ति त्यो नै निर्णायक बन्न पुग्यो । २०६२/२०६३ का आन्दोलनमा मात्र होइन २०५२ देखि माओवादी जनयुद्धमा महत्त्वपूर्ण भूमिका थियो विद्यार्थी आन्दोलनको । सयौँ विद्यार्थीहरू शहीद भए । कैयौँ राज्यले बेपत्ता बनाए भने कैयौँ अपाङ्ग-घाइते भएका छन् ।
राजनीतिक दलहरू प्रतिबन्धित हुँदा विद्यार्थी संगठनहरूले राजनीतिक दलहरूका मुद्दा नै जनतामा लैजाने र स्थापित गर्ने काम गरेका थिए । देशमा भएका राजनीतिक परिवर्तनको वाहक नै विद्यार्थी संगठन बनेका थिए । तर, पछिल्लो समयमा विद्यार्थी आन्दोलनले आफ्नै ओज, महत्त्व र विश्वास गुमाएको छ ।
राजनीतिक दल प्रतिबन्धित भएको समयमा विद्यार्थी संगठनले सत्तालाई हाँक दिन्थ्यो । जनताका हक अधिकार प्राप्तिको लडाइँमा नेतृत्व गर्थ्यो । राणा शासनको अन्त्यका लागि सक्रिय भएको विद्यार्थी आन्दोलन पञ्चायती व्यवस्थामा झन् निर्णायक शक्ति बन्यो । गणतन्त्रपछि विद्यार्थी आन्दोलन गुमनाम मात्र होइन, बदनाम पनि बनेको छ ।
विद्यार्थीहरुको सोच विचार, धारणा स्वभाव र आचरण जुन स्थितिबाट विकसित भएर आयो त्यसैले अनेक समयताकाको रुपान्तरणका लागि अभिभाराहरुलाई चाहे त्यो समाजमा होस् चाहे त्यो राज्य व्यवस्थाको विभिन्न संरचनाहरुमा होस् राम्रो दबाब र जागरणको निरन्तर प्रभावको शृङखला रहँदै आएको पाइन्छ । नेपालमा भएको विभिन्न साना-ठुला क्रान्तिहरुको पृष्ठभुमिलाई फर्किएर हेर्ने हो भने विद्यार्थी जागरण र आन्दोलनको रापताप र जगबाट त्यसको प्रारम्भ भएको पाइन्छ । अन्याय नसहने आम विद्यार्थी प्रवृतिले असत्य, भ्रम र शासकिय दमनको विरुद्ध सधै सतिसाल झै उभिएर डटेर लड्न प्रेरित गरिरहेको हुन्थ्यो तर अहिलेको अवस्थामा भने संगठनहरु विचलित भएका छन् ।
इतिहासको कालखण्डहरुलाई स्मरण गर्दा विद्यार्थी आन्दोलनका औचित्य कति प्रष्ट देखिन्थ्यो । कति सङ्लो थियो जसले एउटा छुट्टै गौरबको ईतिहास रचि नै रहेको छ । विगतमा श-सक्त विद्यार्थी आन्दोलन यदि नभएको भए आजको अवस्थामा यति धेरै परिवर्तन सायद नेपाल संभव थिएन । तर विडम्बना भनौ या दुर्दशा भनौ वर्तमान विद्यार्थी आन्दोलन दिशाहिन, उदेद्दयहिन र गतिहिन जस्तै भएको छ । वर्तमान अवस्थामा आएर हामिले जसलाई विद्यार्थी नेताहरु मानिरहेका छौ तिनीहरु प्राय गोट्टी त प्रष्टै बनेका छन् । त्यसमा पनि विभिन्न खाले नियुक्तीहरुमा तछाँडमछाँड गरिरहेका छन् । विद्यार्थी नेताहरुको प्रतिष्पर्धा विभिन्न खाले ठेक्का पट्टा देखि लिएर अनेक रुपको भ्रष्ट दलालीहरुमा देखिन्छ । यी दृष्टान्तहरुलाई हेर्दा लज्जाबोध त हुन्छ नै अझ बढि त घृणा र आत्मग्लानीका साथै विद्यार्थी आन्दोलन माथि गम्भिर प्रश्न चिन्ह खडा भइरहेको छ । आजको अवस्थामा बिद्यार्थी आन्दोलनहरु कतातर्फ केन्द्रीत भइरहेका छन् ।
विद्यार्थी राजनिति एउटा महान अभियान हो, तर अहिले बिद्यार्थी संगठन एउटा अन्योलग्रस्त यात्री जस्तै भएको छ । बिद्यार्थी संगठन शैक्षिक क्षेत्रमा व्याप्त विकृति विरुद्धको आन्दोलन हो, विभिन्न खालका परिर्वतनहरुको संम्वाहक हो । आम जनतामा चेतना संचार गर्ने चेतनाको गति प्रवाह हो, देश निर्माणको सवक सिकाउने आम जनताको आश र भरोसाको केन्द्रबिन्दु हो । विद्यार्थी आन्दोलनको मुल प्रवाहको माध्यमबाट देश दुनिया रुपान्तरण गर्ने विद्यार्थी संगठन हो । तर अहिले आएर अनेकौ बहानामा आफ्नो काम कर्तव्य भन्दा पनि कसरी नेता बन्ने, कसलाई नेता मान्ने, कसको समुह बलियो, कसलाई कुन कमिटिमा भर्ति गर्दा आफु नेता भइन्छ भन्ने विकृत खेल दौडमा सिमित हुँदा संगठनको अवस्था अस्तव्यस्त भएको पाइन्छ ।
विद्यार्थी आन्दोलनलाई आजको राष्ट्रिय एजेन्डा र बहसको विषयमा कसरी समावेश गर्ने र नेपाली समाजलाई अझै उन्नत बनाउन विद्यार्थी संगठनको भूमिका कसरी प्रभावकारी बनाउने भन्ने कुरा विद्यार्थीहरूले मनन गर्नुपर्ने बेला भएको छ । नयाँ ढङ्गले विद्यार्थी आन्दोलनलाई परिचालित गर्न विद्यार्थीमाझ स्थापित गर्न नयाँ तरिकाले सोच्नुपर्ने भएको छ । अहिले व्यक्तिगत प्रतिष्ठा मानमर्यादा भन्दा पनि संगठनको भविष्य र विगतको गौरवपुर्ण विरासतलाई जोगाइ राख्नु अहिलेको मुख्य कार्यभार र चुनौती हो ।
विद्यार्थी आन्दोलनकाे इतिहास
नेपालमा २००७ सालको आन्दोलनभन्दा पहिला पनि राजनीतिक जागरणमा प्रमुख भूमिका विद्यार्थीकै थियो । जागरण, दबाब र प्रतिपक्षीय आन्दोलनको पर्यायवाची थियो, विद्यार्थी आन्दोलन । नेपालको राजनीतिक परिवर्तनमा अहम् भूमिका खेल्दै आएको विद्यार्थी आन्दोलन अहिले भने मुर्झाएको छ । नेपालको विद्यार्थी आन्दोलन निरंकुश राणाशासनका विरुद्ध संगठित भएका विद्यार्थीहरूले निर्माण गरेका थिए ।
त्यो समयमा जनताले बोल्न नपाउने, पढ्न नपाउने अवस्था थियो । राणा शासकहरूको बोली कानुन बन्ने चरम दमन र निरंकुशताका विरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनको गौरवपूर्ण इतिहास छ । नेपाली विद्यार्थी आन्दोलनको इतिहासमा सर्वप्रथम १९९१ सालमा भारतको बनारसमा अध्यनरत नेपाली विद्यार्थीहरूले ‘नेपाली छात्र संघ’ गठन गरे ।
२००४ साल असार १ गते नेपालमा ‘जयतु संस्कृतम्’ नामको पहिलो संगठित विद्यार्थी आन्दोलनको सुरुवात भयो । यो संगठनको मुख्य उद्देश्य राणा शासनका विरुद्ध संगठित भएर आन्दोलन गर्नु थियो। मंसिर २२ गते संस्कृत छात्रवास काठमाडौंबाट राणा शासकहरूले ४३ जना विद्यार्थीहरू निष्कासन गरे ।
विद्यार्थीहरूले चरम दमनको प्रतिरोधका निम्ति संगठित विद्यार्थी आन्दोलनको महसुस गरे । त्यसपछि २००६ साल असार १७ गते भूमिगत रूपमा प्रचण्डराज सिंहको नेतृत्वमा ‘अखिल नेपाल विद्यार्थी फेडेरेसन’ गठन गरियो । नेपाली विद्यार्थी अन्दोलनको इतिहासमा यो नै पहिलो संगठन बन्यो।
२००७ साल पुस २४ गते भारतको मध्यस्थतामा राजा, राणा र नेपाली कांग्रेसले त्रिपक्षीय दिल्ली सम्झौता गरे । उक्त दिल्ली सम्झौताको यो विद्यार्थी संगठनले विरोध गर्यो ।
२००८ साल कात्तिक २० गते आन्दोलनका क्रममा विश्व निकेतन हाई स्कुलमा अध्ययनरत १४ वर्षे विद्यार्थी चिनियाँकाजी श्रेष्ठको काठमाडाैंको भूगोलपार्कमा गोली हानी हत्या गरियो । त्यसबेला प्रधानमन्त्री मोहनशमशेर राणा र गृहमन्त्री बीपी कोइराला थिए ।
२०११ सालमा अनेविफेले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन गर्यो । उपत्यकामा क्रियाशील अन्तरकलेज विद्यार्थी युनियन र अनेविफेबीच २०१३ सालमा एकता भएर ‘नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन’ गठन गरियो ।
वि.सं. २०२१ साल वैशाखमा त्रिचन्द्र कलेज विद्यार्थी युनियनको सक्रियतामा उपत्यकाव्यापी अन्तरकलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । सम्मेलनले सबै राष्ट्रघाती असमान सन्धिहरू खारेज गर्नुपर्ने, गोर्खा भर्ती केन्द्र पूर्णतः खारेज गर्नुपर्ने, स्ववियु खोल्न पाउनुपर्ने र बन्दी विद्यार्थीहरूको निःशर्त रिहाइ गर्नुपर्नेलगायतका मागहरू राखी सशक्त संघर्ष गर्ने निर्णय गर्यो ।
यसरी वि.सं. २०१७ साल पुस १ गते राजा महेन्द्रले गरेको ‘कू’पछि राजनीतिक दल र संघसंस्था खोल्न पाउने अधिकारमाथि प्रतिबन्ध लगाइयो । त्यसपछि विद्यार्थी संगठनहरू झन् सशक्त रूपमा राजनीतिक एजेन्डा बोकेर सक्रिय भएका थिए ।










