काठमाण्डौ उपत्यका प्रहरी कार्यालयद्वारा सुरक्षा चुनौति सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न

5.17K
shares

काठमाडौ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाकाे प्रमुख आतिथ्यतामा निर्देशन कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यालय तथा मातहत कार्यालयका कार्यालय प्रमुखहरु, सुवेदार मेजर सहितका जुनियर प्रहरी अधिकृतहरु तथा हवल्दार मेजरहरु (ह.मे.) सम्मका प्रहरी कर्मचारीलाई पछिल्लो तीन महिनामा उपत्यकामा घटित घटनाको समिक्षा र आगामी दिनमा हुनसक्ने सुरक्षा चुनौति सम्बन्धी निर्देशन दिनु भएकाे हाे ।

निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले विगतका समयमा काठमाण्डौ उपत्यकामा गरिएका शान्ति सुरक्षा अपराध नियन्त्रण तथा अनुसन्धान लगायतका कार्यमा प्रहरी कर्मचारीहरुले उच्च व्यवसायिकताका साथ सुरक्षा प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै निकट भविष्यमा हुनसक्ने संभावित सुरक्षा चुनौतीलाई निष्तेज गर्न मातहतका कर्मचारीहरुसँग समन्वय र सहकार्य गर्दै निडर, निर्भिक र निष्पक्ष तवरले प्रहरी कार्य गर्दै आफ्नो व्यवसायिकता प्रस्तुत गर्न पनि निर्देशन दिनु भयो ।

साथै भविष्यको चुनौतिलाई मध्यनजर गर्दै प्राप्‍त सूचना अनुरुप प्रभावकारी तवरले प्रविधि र प्रहरीको परिचालन गरी ‘सुरक्षित काठमाण्डौ उपत्यका, हाम्रो प्रतिवद्दता’ अभियान अन्तर्गत काठमाण्डौ उपत्यकालाई सुरक्षित बनाउन निर्देशन दिनु हुँदै भिड नियन्त्रणको सिलसिलामा मानव अधिकारको संरक्षण र संवर्धन गर्दै सिलसिलेवार (Proper use of force) तवरले सुरक्षा चुनौतिलाई सामना गर्न तयार गरिएको सुरक्षा योजना मुताविक परिचालित भई प्रहरी कारवाही गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा कार्यालय तथा मातहत कार्यालयका प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।