सिद्धार्थनगरमा मातृदूध प्रतिस्थापन नियमनः फार्मेसी अनुगमन अभियान
वि.सं.२०८२ कात्तिक २४ सोमवार १४:५९
shares

रुपन्देही । नेपालमा पूर्ण स्तनपानको अवस्था अत्यन्त चिन्ताजनक बन्दै गएको छ। राष्ट्रिय जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ अनुसार जन्मेको ६ महिनासम्म शिशुलाई केवल आमाको दूध मात्र खुवाउने दर ५६ प्रतिशतमा झरेको छ, जुन सन् २०११ को ७० प्रतिशतबाट निरन्तर ओरालो लाग्दै आएको हो। यसले शिशु मृत्युदर र कुपोषणको जोखिम बढाइरहेको छ। विश्व स्वास्थ्य संगठनले सन् २०२५ सम्म कम्तीमा ५० प्रतिशत र २०३० सम्म ९० प्रतिशत पूर्ण स्तनपानको लक्ष्य राखेको छ, तर नेपालमा यो चुनौतीपूर्ण देखिन्छ। यस्तो पृष्ठभूमिमा मातृदूध प्रतिस्थापन (नियन्त्रण तथा वितरण) ऐन, २०४९ ले फार्मुला दूध तथा प्याकेटजन्य पोषण सामग्रीको बिक्री–वितरणलाई कडाइका साथ नियमन गर्दै आएको छ, जसलाई २०८२ को संशोधनले थप प्रभावकारी बनाएको छ।
यही सन्दर्भमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कार्तिक २३ र २४ गते भिम अस्पताल, युनिभर्सल मेडिकल कलेज तथा आसपासका फार्मेसीहरूमा विशेष अनुगमन अभियान सञ्चालन गरेको छ । प्याकेजमा ‘पोषणयुक्त’ नाम दिएर बेचिने कृत्रिम खाद्य सामग्रीको बिक्रीलाई पूर्ण रूपमा निरुत्साहित गर्दै आमाको दूधलाई प्राथमिकता दिन अनुगमन टोलीले जोड दिएको छ । अनुगमन समिति संयोजक तथा नगर उपप्रमुखले उमा अधिकारीले चिकित्सकको लिखित सिफारिसबिना यस्ता सामग्री बिक्री–वितरण नगर्न कडा निर्देशन दिइन्। आगामी दिनमा उल्लंघनकर्तालाई कडा कारबाही गरिने चेतावनी पनि दिइन् ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार मातृदूध प्रतिस्थापन विधेयक २०४९ को २०८२ संशोधनले अनुगमनलाई अनिवार्य बनाएको स्पष्ट पारे। उनका अनुसार नगरपालिकामा रहेका २९ वटा फार्मेसीमा अनुगमन गरीएको जानकारी दिए । सिद्धार्थनगरको यो सक्रिय अनुगमनले राष्ट्रिय स्तनपान लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरीएको छ ।सबै अभिभावक, स्वास्थ्यकर्मी र फार्मेसी सञ्चालकले आमाको दूधलाई पहिलो पोषण स्रोत मान्दै यसको प्रवद्र्धनमा साथ दिन नगरपालिकाले आग्रह गरेको छ ।















