७८ दिन सम्म पनि पत्ता लागेनन् पूर्वराजदूत झाका हत्यारा

वि.सं.२०७५ कात्तिक २१ बुधवार ०८:५६
shares

काठमाडौँ । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेर विश्वास गुमाएको नेपाल प्रहरी राजधानीमै भएको ‘हाइप्रोफाइल’ हत्या अनुसन्धानमा पनि असफल भएको छ । पूर्वराजदूत केशवराज झाको हत्या भएको ७८ दिन पुग्दा पनि प्रहरीले कुनै रहस्य खोल्न सकेको छैन ।
४ भदौमा घरमै सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी झाको हत्या भएको थियो । हत्या लगत्तै प्रहरीले तीन कामदारलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर घटनामा उनीहरूको संलग्नताको कुनै प्रमाण नभेटिएपछि छुटिसकेका छन् ।
पक्राउ परेका मध्ये कान्छाराम तामाङले प्रहरीलाई दिएको बयान झुटो भएको पोलिग्राफ टेस्टमा खुलेको थियो । तर अन्य प्रमाण प्रहरीले पत्ता लगाउन सकेन । तामाङ झाको घरको सुरक्षागार्ड तथा सहयोगी थिए । हत्या निकै योजनाबद्ध भएकाले अनुसन्धानमा समय लागेको अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले बताए । महाशाखाले झा हत्या घटनालाई पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको उनले बताए ।