उपत्यकाको सुरक्षा व्यवस्था थप मजबुद बनाइने

6.62K
shares

काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चाडबाडलाई लक्षित गरेर उपत्यकाको सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने बताएका छन्। सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मङ्गलबार नयाँ बसपार्कमा आयोजना गरेको ‘अपराध न्यूनीकरणमा समुदायको सहकार्य’ विषयक कार्यक्रममा उहाँले चाडबाडका समयमा हुने अपराधलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने बताएका छन्।

“समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरी र जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने छौँ”, उनले भने। प्रहरी सङ्गठनभित्र निष्ठा र इमान्दारीका साथ काम नगर्ने प्रहरीलाई कारवाही गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे। महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले बसपार्क क्षेत्रमा हुने अपराधका घटनालाई न्यूनीकरण गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै यसका लागि समाजको सहयोग आवश्यक रहेको बताए।

काठमाडौँ महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारीले समाजमा हुने अपराध नियन्त्रणका लागि समुदायको महत्वपूर्ण भूमिका रहेको बताउँदै सबै मिलेर अपराध नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिए। टोखा नगरपालिका–१० का अध्यक्ष मधुसुदन भट्टराईले प्रहरीले ल्याएको ‘प्रहरी–समुदाय साझेदारी’ कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको भने।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083