विश्वको ३५ औंँ कला नगरीका रुपमा ललितपुर

२०७५ कात्तिक २९ बिहीवार
1.2K
shares
काठमाडौँ । विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई विश्वको ३५ औंँ कला नगरीका रुपमा घोषणा गरेको छ । विश्व कला परिषद्का एशिया प्रशान्त क्षेत्रका अध्यक्ष डा घादा हिज्जाबी कदामीले महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई ‘कला नगरी’ को प्रमाणपत्र दिनुभयो । परिषद्ले विश्वका मौलिक र परम्परागत कला भएका शहरलाई कला नगरी घोषणा गर्दै आएको छ । परिषद् विश्वभरमा छरिएर रहेका कलामा संलग्नहरुको प्रवद्र्धनमा स्थापित संस्था हो ।
संयुक्त अधिराज्यमा केन्द्रीय कार्यालय रहेको यो परिषद्ले विभिन्न चरणमा अध्ययन गरेर शहरहरुलाई यस्तो घोषणा गर्दै आएको छ । यसअघि विश्वका ३४ मुलुक कला नगरी घोषणा भएका थिए । नेपालमा भने ललितपुर महानगरपालिका नै पहिलो नगर भएको छ । तेस्रो शताब्दीमा मौर्य सम्राट् अशोकले बनाउन लगाएका सत्य, त्रेता, द्वापर र कलियुग झल्कने चार स्तूप पाटनमा छन् ।
त्यसैगरी पाँचौं शताब्दीमा बनेको हिरण्यवर्ण महाविहार पुरातात्विक महत्वको सम्पदा हो । यसलाई १२ औँ शताब्दीमा भाष्करदेवले जीर्णोद्धार गरेको इतिहास पाइन्छ । रातो मत्छेन्द्रनाथको जात्रा परम्परा नरेन्द्रदेवले शुरु गरेकामा अहिलेसम्म पनि निरन्तर चलिरहेको छ । सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल र योगनरेन्द्र मल्लका पालामा पाटन दरबार १६ र १७ औँ शताब्दीमा निर्माण भएको हो । ललितपुर–२० स्थित पेमबहाल पोखरी १२ औँ शताब्दीको उपलब्धि हो । उक्त पोखरी राजारजौटाले नभएर राक्षसले निर्माण गरेको विश्वास गरिएको छ ।
परिषदमा महानगरले केही समय पहिले कला नगरीमा पार्नका लागि आवेदन दिएको थियो । परिषद्का पदाधिकारीले महानगरपालिकाका विभिन्न स्थानमा घुमेर यहाँको मौलिकताका बारेमा अध्ययन गरेको परिषद्ले जनाएको छ । प्राविधिकले यहाँ अध्ययन गर्दा उपयुक्त छ÷छैन भन्ने विभिन्न चरणमा अध्ययन गरेको थियो । उनीहरुले उपयुक्त रहेको प्रतिवेदन दिएपछि नै प्रक्रिया अघि बढेको हो । करीब चार लाख जनसङ्ख्या रहेको महानगरपालिकामा ८० प्रतिशत हस्तकलामा संलग्न रहेको प्रमुख महर्जनले बताउनुभयो । रासस

२०७५ कात्तिक २९ बिहीवार