हिमालमा बेपत्ता भएका दुई आरोहीको शव ३० वर्षपछि फेला

5.63K
shares

काठमाडौं । ७ हजार १ सय ६१ मिटर अग्लो पुमोरी हिमालमा बेपत्ता भएका आइसल्यान्डका दुई आरोहीको शव ३० वर्षपछि फेला परेको छ। आइसल्यान्डको अखबार आइसल्यान्ड रिभ्यूले मंगलबार शवको पहिचान भएको समाचार छापेको छ। २०४५ असोजमा पुमोरी हिमाल आरोहणका क्रममा २७ वर्षीय युवा क्रिस्टिन रुनारसोन र पोर्रटिन गुओजोन्सनको आधिकारिक पहिचान खुल्ने कागजातसहित शव फेला परेको अखबारले उल्लेख गरेको छ।

अमेरिकी पर्वतारोहीले शव पत्ता लगाएका हुन्। उनीहरूकी साथी अन्ना लारा फ्रिओरीकस्डोटिरकोले आरोहण क्रममा ६ हजार ६ सयदेखि ६ हजार ७ सय मिटर उचाइमा दुवै जना बेपत्ता भएको बताएकी छन्। ‘शव फेला पारी पहिचान गर्नु कठिन भए पनि यो राम्रो समाचार हो’, उनले भनेकी छन्। शव पत्ता लगाउने अमेरिकी पर्वतारोहीको परिचय खुलाइएको छैन।

महालंगुर हिमशृंखलामा पर्ने पुमोरी सुन्दर हिमाल भनेर परिचित छ। यसको नाम शेर्पा भाषामा राखिएको मानिन्छ। यसको अर्थ पुमो भनेको युवती (सुन्दरी) र री भनेको हिमाल हो। यसको अर्थ सुन्दर हिमालको अर्थ लाग्ने गर्छ। शव पहिचान भएकोबारे सरकारी अधिकारी अनभिज्ञ छन्। ‘कुन कुन हिमालमा कति शव छन्, कस्तो अवस्थामा छन् पर्यटन विभागसँग कुनै जानकारी छैन’, विभागका सूचना अधिकारी सुरेन्द्र थापाले बताए।

हिमाल आरोहणमा मृत्यु भए आरोहण आयोजक एजेन्सीले आधारशिविरसम्म ल्याएर परिवारलाई शव जिम्मा दिनु पर्ने नत्र सद्गत गर्नु पर्ने कानुनी व्यवस्था छ। सगरमाथा, मनास्लु, ल्होत्से, मकालु, कञ्चनजंघा, धौलागिरिलगायत धेरै आरोहण हुने हिमालमा शव व्यवस्थापन हुन सकेको छैन। २० वर्षदेखि धौलागिरिको चुचुरोमा शव रहेको आरोही लाक्पा शेर्पाले बताए। व्यवस्थापनमा कडाइ नगरिएकाले वर्षौं हिमालमा रहेका नकुहिएका शव देख्दा आरोही तर्सने गरेको उनले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083