हुस्सुले उडान अवरुद्ध

5.71K
shares

राँझा । बाँकेमा बिहिबार बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण बिहानीपख हुने हवाई उडान हुनसकेको छैन। हुस्सुका कारण नेपालगञ्जबाट बिहानपख हुने सम्पूर्ण हवाई उडान हुनसकेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका प्रमुख रबिना पाण्डेले जानकारी दिए।

उनका अनुसार साना र ठूला हवाई जहाजका लागि पर्याप्त भिजिविलिटी नभएका कारण उडान हुननसकेको हो। बाँकेमा आज बिहान ५० मिटर मात्र भिजिविलिटी रहेको पाण्डेले बताए। सानो जहाज उडानका लागि एक हजार ६०० देखि दुई हजारसम्म र ठूला जहाजका लागि दुई हजारभन्दा माथि भिजिविलिटी हुनुपर्ने हुन्छ।

अहिले नेपालगञ्जको अधिकतम तापक्रम १६ रहेको छ भने न्यूनतम तापक्रम १३।५ रहेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका प्रमुख पाण्डेले जानकारी दिए। “मौसममा सुधार आए पनि अहिलेसम्म पुरै आकाश खुलेको छैन। यो क्रम केही दिनसम्म रहने सम्भावना छ”, उनले भने।

नेपालगञ्ज विमानस्थल सुरक्षा इन्चार्ज प्रहरी नायब निरीक्षक दिनेश विष्टले बिहानपख हुने कर्णाली क्षेत्र र काठमाडौँका उडान हुननसकेको जानकारी दिए। नेपालगञ्ज विमानस्थलबाट बिहान कर्णालीका डोल्पा, हुम्ला मुगु र काठमाडौँका लागि उडान हुने गर्दछ। मौसममा सुधार आउनासाथ उडान गर्ने तयारी भएको विष्टले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083