उच्च वित्तीय जोखिममा निगम : ब्याज मात्र दैनिक एक करोड

२०७५ कात्तिक ३० शुक्रवार
978
shares
काठमाडौ । अन्तर्राष्ट्रिय उडानका लागि हालै दुई वटा नयाँ वाइड वडी जहाज भित्र्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम उच्च वित्तीय जोखिममा परेको छ । निगमले संस्थाको वर्तमान अवस्था र आगामी रणनीतिबारे स्वेतपत्र जारी गर्दै जहाजको तिर्नुपर्ने कर्जाले निगमको तरलता अवस्था तथा नाफामा सिधै असर पर्न गएको भन्दै वित्तीय सूचकलाई अनुकूल बनाउन तुरुन्त पूँजी लगानी भित्र्याइ वित्तीय जोखिम न्यूनीकरण गरी निगमको विश्वसनीयता कायम गर्न सरकारसँग आग्रह गरेको हो ।
निगमसँग उपलब्ध नगद प्रवाह तथा निगमले तिर्नुपर्ने दायित्व अत्यधिक रहेको जनाउँदै वाइड बडी जहाजको व्यावसायिक योजना अनुसार सञ्चालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न निगमलाई तत्कालै सरकारको आर्थिक सहायता आवश्यक परेको जनाएको छ । निगमको अधिकृत पूँजी ३० करोड छ । हाल निगमको पूँजी लगानी तीन अर्ब १० करोड रहेको छ । उक्त पूँजी लगानी अधिकृत पूँजीभन्दा बढी भएकाले यथाशीघ्र नियमित गर्नुपर्ने आवश्यकता छ ।
निगमका अनुसार जहाजको तिर्नुपर्ने कर्जा रकम ३२ अर्ब ८७ करोड रहेको छ । निगमको दीर्घकालीन कर्जार जम्मा पूँजी ३९ अर्ब ८२ करोड रहेकाले निगम उच्च वित्तीय जोखिममा रहेको हो । पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमको पहिलाको अवस्थाभन्दा नयाँ वाइड बडी जहाज खरिदपछि डेढ गुणा बढी व्यापार क्षमता वृद्धि भएकाले संस्थाको आर्थिक चुनौती स्वभाविक भए पनि अवस्था सुधार्न लागिपरेको बताउनुभयो ।
चार महिना भित्र चार गन्तब्य
नयाँ गन्तब्यका लागि पहल गरिरहेको निगमले वाइड बडी जहाजबाट अबको चार महीनाभित्र चार गन्तब्यमा उडान गरिने जनाएको छ । निगमका अध्यक्ष खरेलका अनुसार चीन, जापान, दक्षिण कोरिया र साउदी अरबमा उडानका लागि प्रक्रियामा रहेको छ । निगम राष्ट्रिय धरोहर भएकाले यसको सफलताका लागि सबैको साथ सहयोग चाहिने खाँचो औँल्याउनुभयो । निकट भविष्यमा युरोप अमेरिकाका गन्तब्यमा उडान भर्ने निगमको योजना छ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप निगमले हाल ३५ विदेशी एयरलाइन्सलाई भूमिस्थ ९ग्राउण्ड ह्याण्डलिङ० सेवा प्रदान गर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानलाई दुई थान वाइड बडी ए ३३० जहाज, दुई थान न्यारो वडी ए ३२० जहाज र एक थान बोइङ जहाज रहेका छन् । आन्तरिक उडानका लागि तीन वटा टुइनटर, दुई वटा एमए–६०, चार वटा वाई–१२ इ विमान छन् । रासस

२०७५ कात्तिक ३० शुक्रवार