६० दिनमा मेलम्चीको पानी काठमाडौंका घर घरमा !
वि.सं.२०७५ मंसिर १६ आइतवार १६:५१
shares

काठमाडौं। खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले ६० दिन भित्र मेलम्चीको पानी काठमाडौं आइपुग्ने दावी गरेका छन्। सचिव ठाकुरले मेलम्चीको खानेपानी ल्याउने काममा कर्मचारीहरुलाई उत्साही बनाउने वातावरण बनाई दिन संघीय संसदका सांसदहरुलाई आग्रह गरे। आइतबार विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले ६० दिन भित्र सबै प्राविधिक काम सकेर मेलम्चीको पानी टनेलमा हाल्ने र त्यसको ६ दिन भित्र काठमाडौंको घरघरमा पानी पुर्याउने दावी गरे।
सचिव ठाकुरले दशैंमा मेलम्चीको पानी ल्याउने प्रतिवद्धता पूरा गर्न नसकेकोमा माफी समेत मागेका थिए। उनले सुरुमा मेलम्चीको पानी पुरानै संरचनाबाट वितरण गर्ने जनाए। महाँकाल, नयाँ बानेश्वर, अनामनगर, बालाजु, पानी पोखरी र बाँसबारीमा रहेको पुरानै पानी टयांकीबाट पानी वितरणको काम सुरु गर्ने सरकारको योजना छ।
सचिव ठाकुरले नयाँ संरचना तयार पार्ने क्रममा पाईपलाईन विस्तारको काम सक्न लागिसकेको उल्लेख गर्दै त्यसमा भने पानी परीक्षण गरेर मात्रै वितरण गर्ने योजना रहेको उल्लेख गरे। मेलम्चीको पानी वितरणका लागि करिव एक हजार किलोमिटर पाईपलाईन विस्तारको काम सम्पन्न हुने चरणमा रहेको छ। सचिव ठाकुरले सुरुका ४ महिना भने पुरानै संरचनाबाट पानी घरघरमा पुर्याउने र परीक्षण गर्दै नयाँ पाईपलाईनमा पनि पानी हाल्दै लैजाने योजना पनि समितिलाई जानकारी दिए।





























