कुर्सी र माइकको मर्मत पूरा नहुँदा संसदको हिउँदो अधिवेशन आह्वानमा ढिलाइ

5.04K
shares

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभा भवनको मर्मत संहार कार्य पूरा नहुँदा संघीय संसदको हिउँदे अधिवेशन बोलाउन ढिलाइ भएको बताएका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्काल संघीय संसदको हिउँदे अधिवेशन बोलाउन माग गरिरहेका बेला मन्त्री ढकालले प्रतिनिधिसभा भवनको सभा हलमा कुर्सी, माइकलगायतको मर्मत कार्य पूरा नभएकाले संघीय संसदको हिउँदे अधिवेशन बोलाउने काममा ढिलाइ हुन गएको बताएका हुन्।

बुधबार सिंहदरबारमा आयोजित संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले सरकार संघीय संसदको हिउँदे अधिवेशन बोलाउने काममा बिलम्व गर्ने पक्षमा नरहेको बताए। मन्त्री ढकालले पुस पहिलो साता भित्र प्रतिनिधिसभा भवन मर्मत संहार कार्य पूरा हुने र त्यसलगत्तै संघीय संसदको हिउँदे अधिवेशन आह्वान गर्ने तयारी भएको बताए। उनले संसदको हिउँदे अधिवेशनमा कानुन निर्माण प्रक्रियालाई व्यवस्थित ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। मन्त्री ढकालले सरकार संसदलाई छलेर अध्यादेशमार्फत् कानुन ल्याउने पक्षमा रहेको बताए।

मन्त्री ढकालले संघीय संसदको आगामी अधिवेशनमा संविधानसँग बाँझिएका कानुन संशोधनको कामलाई उच्च प्राथमिकता दिने योजना रहेकोे पनि बताए। फागुन पहिलो हप्ता भित्र नयाँ संविधानसँग बाँझिएका सबै कानुन संशोधन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। मन्त्री ढकालले संविधानको सोही व्यवस्था अनुसार सरकारले संविधानसँग बाँझिएका कानुन संशोधन गर्ने कामलाई उच्च प्राथमिकता दिएको बताए।