वाइड बडी विमान खरिदबारे दुईवटा संसदीय समितिमा आज एकैपटक छलफल

4.62K
shares

काठमाडौं । नेपाल वायु सेवा निगमको वाइड बडी खरिदमा भएको अनियमितता सम्बन्धमा प्रतिनिधि सभामा दुईवटा समितिमा बुधवार छलफल हुँदैछ । वाइडबडी विमानको विषयमा छलफल गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बिहान साढे ११ बजे संसद् सचिवालय सिंहदरवारमा बस्दैछ । समितिले यसअघिको बैठकमा विमान खरिद प्रक्रियाका कागजात मगाएको थियो ।

आजको बैठकमा विमान खरिदबारे थप छलफल हुने समितिका एक सदस्यले बताए । विमान खरिदमा ६ अर्ब ५९ करोड अनियमितता भएको प्रारम्भिक निष्कर्ष निकालेको सार्वजनिक लेखा समितिले विमान खरिद प्रक्रियाबारे आज संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारी लगायत मन्त्रालयका अधिकारीहरूलाई बोलाएको समिति सचिव डा। रोजनाथ पाण्डेले जानकारी दिए ।

लेखा समितिले विमान खरिद प्रक्रियामा प्रश्न उठाउँदै मन्त्रालय र निगमका लागि ४१ प्रश्न तयार पारेको छ । यसअघि मंसिर ९ गते बसेको बैठकमा समिति सभापति भरत शाहले विमान खरिदमा ६ अर्ब ५९ करोड अनियमितताको आशंका गरेका थिए । विभागीय मन्त्रीसँग छलफलपछि समिति कुनै निष्कर्षमा पुग्ने समिति सभापति शाहले बताएका छन् ।