बर्खास्तीबाट बच्न शत्तिकेन्द्र धाउदै राजदुत शेर्पा, कहाँ कहाँ पुगिन झोला बोकेर

5.47K
shares

काठमाडौं । मानव तस्करीको आरोप लागेर विवादमा आएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा काठमाडौं आएर शक्तिकेन्द्र धाउन थालेकी छन् । आरोपमाथि सरकारी छानबिन र फिर्ता बोलाउने तयारी भइरहेका बेला शेर्पाले कारवाहीबाट जोगिन प्रयास गरिरहेकी छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विभिन्न नेतालाई भेटेर आफूमाथि हुन लागेको कारवाही स्थगित गराउन राजदूत शेर्पाले प्रयास गरिरहेकी छन् ।

पूर्वसवारी चालक वाङ्छु शेर्पाले मानव ओसारपसारको आरोप लगाएपछि राजदूत शेर्पा विवादमा आएकी छन् । आफूबाट लाखौं रुपैयाँ लिएको र पत्नीलाई उल्टै फसाएको भन्दै वाङ्छुले सञ्चारमाध्यमबाट सार्वजनिक अपिल गरेका थिए । विवादमा मुछिएकी नेकपाका नेता, नेपाली कांग्रेस पार्टी लगायतले राजदूत शेर्पामाथि छानबिन र कारवाही गर्न माग गरेका थिए । त्यसपछि परराष्ट्र मन्त्रालयले आन्तरिक रुपमा तीन सदस्यीय छानबिन समिति गठन गरेर कारवाही प्रक्रिया अगाडि बढाएको हो ।

छानबिन समितिमा सहसचिव मणि भट्टराई, दिपक अधिकारी र तपस अधिकारी छन् । राजदूत शेर्पासँग लिइएको प्रारम्भिक स्पष्टीकरण चित्तबुझ्दो नभएपछि मन्त्रालयले उनलाई काठमाडौं झिकाएर थप स्पष्टीकरण लिइरहेको छ । तर, राजदूत शेर्पा काठमाडौं आएको मौकामा शक्तिकेन्द्र धाउँदै कारवाहीबाट बच्ने प्रयास गरिरहेकी छन् । उनले नेताहरूलाई आर्थिक प्रलोभन देखाइरहेको बुझिएको छ ।

राजदूत शेर्पाले प्रयास गरेपनि उनीमाथि कारवाही गर्नुपर्छ भन्ने पक्ष नेकपा र सरकारभित्र बलियो रहेको देखिएको छ । नेकपाका कतिपय नेताहरू खुलेरै राजदूतको विरोधमा उत्रिएका छन् । राजदूत भएर विदेशमा देशकै बद्नाम गर्ने काम गरेकाले तत्काल बर्खास्त गर्नुपर्ने नेकपाकै नेताहरूले माग गरेका छन् । केही दिनअघि सामाजिक सञ्जालमा स्टेटस लेख्दै नेकपाका केन्द्रिय सदस्य विष्णु रिजालले बर्खास्त गरेर कारवाही प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेका थिए ।

कसरी ठगिए वाङ्छु शेर्पा ?

लक्की राजदूत हुनुअघि नै वाङ्छु शेर्पा उनका पतिको सम्पर्कमा थिए । उनका पतिले अमेरिका पठाइदिने भन्दै २२ लाख रुपैयाँ लिएका थिए । गाउँकै एक जनालाई अमेरिका पठाएकाले विश्वास २२ लाख रुपैयाँ दिएको पीडित वाङ्छु शेर्पाले बताएका छन् । त्यसपछि पनि १०–१० लाख गरेर २ पटक थप रकम दिइएको उनले बताए । अमेरिका पठाइदिने भन्दै पीडित शेर्पाले कूल ४२ लाख रुपैयाँ दिए ।

तर राजदूत दम्पतीले वाङ्छु शेर्पालाई अमेरिका पठाउन सकेनन् । उनले अमेरिकाको भिसाका लागि दरखास्त दिएपनि उनको भिसा भने लागेन र अमेरिका पठाउन नसकिरहेकै बेला लक्की शेर्पा राजदूत बन्ने चर्चा चल्यो । त्यसपछि वाङ्छु शेर्पालाई पनि दूतावासमै काम गराउने गरी अस्ट्रेलिया लैजाने सहमति भयो । शेर्पाले दूतावासमै चालकको काम गरे । राजदूत भएपछि शेर्पाले चर्को रकम लिएर नेपालीलाई अस्ट्रेलिया पठाउने धन्दा शुरू गरेको वाङ्छु शेर्पाको आरोप छ ।

आफूले दिएको पैसा वाङ्छु शेर्पाले फिर्ता माग्न थालेपछि राजदूत दम्पतीले चोरीको आरोप लगाएको र शेर्पाकी पत्नीलाई मुद्दा लगाएर थुनामा पठाएको पीडित शेर्पाको दाबी छ । वाङ्छु शेर्पाकी पत्नी अहिले पनि प्रहरीको थुनामै रहेकी छन् । राजदूतको चक्करमा परेर वाङ्छु शेर्पा परिवार अहिले नराम्ररी फसेको तथा शक्ति र पैसाको आँडमा राजदूत दम्पतीले मनपरी गरिरहेको दाबी गरिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083