१८ हजार बढी सरकारी सम्पदा पुनर्निर्माणको अन्योलमा
वि.सं.२०७५ पुस २६ बिहीवार १५:०९
shares

काठमाडौं । भूकम्प गएको चार वर्ष हुन लाग्दासमेत १८ हजार भन्दा बढी सरकारी सम्पदाको पुनर्निर्माण कार्य सुरु हुन सकेको छैन। सरकारी भवन, विद्यालय, स्वास्थ्य संस्था, पुरातात्विक लगायतका सम्पदा पुनर्निर्माणमा अझै अन्योलता छ।
२०७२ वैशाख १२ र २९ गते गएको महाभूकम्पमा क्षतिग्रस्त भएका केही निजी आवास तथा सरकारी सम्पदा अझै अन्यौलमा परेका हुन्। चालु आर्थिक वर्ष २०७५र०७६ को पहिलो ५ महिना सकिनै लाग्दा पनि १८ हजार ७ सय ३४ सरकारी सम्पदाको पुनर्निमाण सुरु भएको छैन। सरकारी भवनको पुनर्निर्माण गर्नुपर्नेमा पूर्ण क्षति भएका २ सय ३० मध्ये २० वटाको पुनर्निर्माण कार्य सुरु नै भएको छैन।
त्यस्तै आंशिक क्षति भएका २ सय ५३ वटा भवनमध्ये २ वटा भवनहरुको निर्माण कार्य सुरु नै नभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अर्थशास्त्री रामकुमार श्रेष्ठले बताए।
शैक्षिक संस्थाहरुको पुनर्निर्माणमा पनि निर्माण कार्य सुरु नै नगरिएका भवन धेरै नै छन्। पूर्ण क्षति भएका भवन ७ हजार ९ सय २३ मध्ये ८ सय ७५ वटा भवनहरु अझै सुरु नै गरिएका छैनन्। त्यस्तै आंशिक क्षति भएका विद्यालयका कक्षा कोठा संख्या ४९ हजार ६ सय ८१ मध्ये १४ हजार ३ सय ३८ वटा भवन भूकम्प गएको चार वर्ष हुन लाग्दा पनि सुरु हुन सकेको छैन।
स्वास्थ्य संस्थाहरुमा पनि पूर्ण क्षति भएका ५ सय ४४ भवन मध्ये १ सय ८१ र आंशिक क्षति भएका ६ सय ५३ भवन मध्ये २ सय २८ गरी ४ सय ९ वटा भवनहरुको निर्माण कार्य सुरु नै भएको छैन। त्यस्तै पुरातात्विक सम्पदाहरुको पूनर्निर्माणमा पनि ७ सय ५३ सम्पदा मध्ये २ सय ४३ वटाको निर्माण कार्य अन्यौलमै रहेको छ। त्यस्तै भूकम्पबाट क्षति भएका सुरक्षा निकायका भवनहरुको पनि त्यस्तै अलपत्र अवस्थामा छन्।
भूकम्पबाट क्षतिग्रस्त भएका नेपाली सेनाका २ सय ४ भवन मध्ये १ सय ४२, नेपाल प्रहरीका १ सय ३९ भवनमध्ये ३६ गरी १ सय ७८ वटा भवन पुनर्निर्माण नभई अलपत्र अवस्थामा रहेका छन्। सुरक्षा निकायकै थोरै भवनमा क्षति भएका सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका भवनको भने निर्माण कार्य सुरु भैसकेको छ। सशस्त्र प्रहरीका ३१ र राष्ट्रिय अनुसन्धान विभागका ९ वटा भवनहरु क्षति भएका थिए।
खानेपानी आयोजनाहरु ४ हजार ५ सय ४५ वटामा क्षति भएको थियो भने निर्माण कार्य भने २ हजार ७ सय ९४ को भएको छ भने १ हजार ७ सय ५१ आयोजना भने अझै पनि अलपत्र अवस्थामा रहेका छन्।
ग्रामीण सडकहरुको पूनर्निर्माणमा पनि पूर्ण रुपमा क्षति भएका सडकहरुमा ८३ किलोमिटर मध्ये ४२ किलोमिटरसम्मको दूरी अझै निर्माण हुन सकेको छैन। त्यस्तै आंसिक क्षति भएका ग्रामीण सडकहरुमा छुट्टा छुट्टै गरी १ हजार ५१ किलोमिटरको लामो दूरीमा क्षति भएका थियो भने ३ सय १६ किलोमिटरको दूरी भने अझै अन्यौलमा रहेको छ।

















