एकता दिवसमा नेपालगञ्ज उपमहानगरले सार्वजनिक विदा दिएकोमा नेकपाको विरोध

5.66K
shares

काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिनलाई केन्द्र सरकारले बेवास्ता गरेका बेला नेपालगञ्ज उपमहानरपालिकाले भने सार्वजनिक विदा दिएको छ ।

बिहिबार बसेको नगरपालिकाको बोर्ड वैठकले बहुमतका आधारमा विदा दिने निर्णय गरेको हो । नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणाले जनभावनालाई बुझेर सार्वजनिक विदा दिने निर्णय गरिएको बताए ।

केन्द्र सरकारले एकता दिवसमा विदा नदिएकोमा दुख व्यक्त गरे । ‘नेपाललाई एकिकरण गर्ने व्यक्ति पृथ्वीनारायण शाह हुन् भनेर मानिसकेपछि एकता दिवस मनाउन किन कञ्जुस्याईं ?’ राणाले प्रश्न गरे, ‘चीनले माओलाई, रसियाले लेनिनलाई इन्डियाले गान्धीलाई मान्छन् भने हामी किन पृथ्वीनारायण शाहलाई मान्न हिच्किचाउने ?उपमहानगरपालिकामा सार्वजनिक विदा दिएर केन्द्र सरकारलाई पनि यो सन्देश प्रवाह गर्न खोजेका हौं ।’

वैठकमा मेयर राणा आफैंले सार्वजनिक विदा दिने प्रस्ताव टेबुल गरेका थिए । कांग्रेस र फोरमबाट चुनिएका जनप्रतिनिधिले सहमति जनाए तर, नेकपाबाट प्रतिनिधत्व गर्नेहरुले विरोध गरे । विवाद नसुल्झिएपछि बहुमतका आधारमा विदा दिने निर्णय भयो, जसमा नेकपासम्वद्धले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

नेकपाबाट प्रतिनिधित्व गर्ने वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले भने, ‘मेयर सा’बले एक्कासी यो प्रस्ताव ल्याउनुभयो । तर, हामीले बिदा दिनु आवश्यक देखेनौं र विरोध गर्‍यौं । हामी अल्पमतमा परेपछि विदा दिने प्रस्ताव सदर भयो ।’ रिजालले नेकपाले जितेका वडाहरुमा विदाको कार्यान्वयन नभएको र कार्यालयहरु खुलेको दाबी गरेका छन् । उपमहानगरले निर्णय गरिसकेपछि वडाले त्यसको उल्लंघन गर्न मिल्छ र भन्ने प्रश्नमा रिजालको जवाफ छ, ‘हाम्रो असहमतिका बीच भएको भएको निर्णय हो, त्यसैले मान्न आवश्यक छैन ।’

केही वडामा विदाको उल्लंघन भएको आफूले पनि सुनेको मेयर राणाले बताए । उनले भने, ‘एकाध वडा कार्यालयहरु खुलेका छन् भन्ने सुनेको छु । त्यो उहाँहरुको कुरा हो । हामीले दबाव दिएका छैनौं । जनताले उहाँहरुलाई चिन्ने मौका पाएका छन् ।’ रिजाल भने आफूहरुले पृथ्वी जयन्तीमा विदा दिनेभन्दा कुनै कार्यक्रम आयोजना गरेर मनाउने प्रस्ताव राखेको बताउँछन् । ‘हाम्रो धारणा के हो भने केन्द्रले, प्रदेशले विदा नदिएको अवस्थामा एउटा नगरपालिकामा विदा घोषणा गरेर केही अर्थ छैन । बरु एउटा कार्यक्रम आयोजना गरौं भन्यौं’ उनले भने, ‘ तर मेयर साब बिदाको पक्षमा अडिक रहनु भयो ।’

उनले अघि भने, पृथ्वीनारायण शाहको जन्मजयन्तीमा विदा दिने हो भने मदन भण्डारी, वीपी कोइराला को मा के गर्ने भनेर पनि हामीले प्रश्न उठायौं । तर, कांग्रेस र फोरमका साथीहरु मेयरसाबको पक्षमा उभिएपछि हाम्रो जोर चलेन । सुन्दैछु कांग्रेस र फोरमलाई पनि केन्द्रबाट विदाको विषयमा सोधपुछ भइरहेको छ ।’

रिजालले संविधानअनुसार पनि पृथ्वी जयन्तीमा उपमहानगरले विदा दिन नमिल्ने तर्क गरे । ‘हामीले स्थानीय जनजातिले मनाउने चाडपर्वलाई लक्ष्यित गरेर बिदा दिन सक्छन् तर, राष्ट्रिय महत्वको विषयमा केन्द्र सरकारलाई चुनौति दिन सक्दैनौं,’ उनले भने । यद्यपि, पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिक मान्ने विषयमा असहमति नरहेको उनले बताए । तर, राजसंस्थालाई ब्यूँताउने एजेन्डा बोकेकाहरुको प्रस्ताव भएकाले आफूहरुले विरोध गरेको रिजालको भनाइ छ ।

नेपालगञ्जका २३ वडामध्ये १० वटामा नेकपाका वडाध्यक्ष छन् । यस्तै मेयरसहित ३ वटा वडामा राप्रपा र बाँकीमा कांग्रेस र फोरमले जितेका हुन् । कार्यपालिका बोर्डमा मनोनितसहित ३३ सदस्य रहेका छन् । आज सार्वजनिक विदा दिने नेपालगञ्ज एक्लो स्थानीय निकाय हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083