एन्फामा भएको भ्रष्टाचार प्रकरण : तत्काल छानबिन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

5.8K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको भनिएको भ्रष्टाचार र अनियमितताको तत्काल छानबिन गर्न निर्देशन दिएका छन् । शनिबार राति युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र सदस्यसचिव केशवकुमार विष्टलाई आफ्नो निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।

‘समग्र खेलकुदको विषयमा कुरा भयो । प्रधानमन्त्रीज्यूले आठौं राष्ट्रिय खेलकुद र १३औं साग (दक्षिण एसियाली खेलकुद) आयोजनाको तयारी अवस्थावारे जानकारी लिनु भयो । फुटबलमा भ्रष्टाचार र अनियमितता भएको विषय के हो, तत्काल राम्ररी छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनुस् भन्नु भयो,’ सदस्यसचिव विष्टले भने, ‘आठौं राष्ट्रिय खेलकुद र १३औं सागका लागि आवश्यक बजेट दिन तत्परता देखाउँदै उहाँले हामीसँग विस्तृत जानकारी माग्नु भएको छ।’

झण्डै साढे दुई घण्टा भएको भेटका क्रममा सदस्यसचिव विष्टले नेपालगञ्जलगायत प्रदेश नम्बर ५ का विभिन्न स्थानमा हुने तयारीमा रहेको आठौं राष्ट्रिय खेलकुद तथा अर्को वर्ष नेपालमा गर्ने भनिएको १३औं सागका लागि अपुग बजेट निकासा गरि दिन प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए । सदस्य सचिवले खेलकुदमा रहेको बेरोजगारी अन्त्यका लागि सबै निजी र सामुदायिक विद्यालयमा एक खेलकुद शिक्षक अनिवार्य गर्ने व्यवस्थाका लागि पनि प्रधानमन्त्रीलाई अनुरोध गरेको बताए ।

खेल पदाधिकारीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन- १० दिनभित्र समग्र खेलकुदको रिपोर्ट मलाई चाहिन्छ

राष्ट्रिय खेलकुद परिषद्का संरक्षकसमेत रहने प्रधानमन्त्रीले ‘आठौं राष्ट्रिय खेलकुद र १३औं सागको डिटेल रिपोर्ट मलाई दिनुस् । १० दिन भित्र समग्र खेलकुदको रिपोर्ट मलाई चाहिन्छ’ भन्दै खेल पदाधिकारीलाई कडा निर्देशन दिएको बताइएको छ । प्रधानमन्त्री ओलीले पार्टीमा फरक गुटलाई प्रतिनिधित्व गर्ने राखेपका अध्यक्ष युवा तथा खेलकुदमन्त्री विश्वकर्मा, उपाध्यक्ष तिम्सिना र सदस्यसचिव विष्टबीचको खराब सम्बन्धलाई समेत सम्बोधन गर्दै ‘मिलेर जान’ निर्देशन दिएका थिए ।

मन्त्री, उपाध्यक्ष र सदस्यसचिवको हप्तामा कम्तिमा दुई पटक बैठक गरेर प्रत्येक हप्ता खेलकुदको रिपोर्ट आफूलाई बुझाउन प्रधानमन्त्रीले खेल नेतृत्वलाई निर्देशन दिए । प्रधानमन्त्रीले सही ढंगबाट काम गरे बजेटको दुःख नहुने आश्वासन दिएको बताइएको छ ।

‘अब म एक्सनमा आएँ । खेलकुदको दिगो विकासको डिपिआर १० दिनभित्र ल्याउनुस् । कहाँ–कहाँ कति पूर्वाधार बनाउने, खेलाडी र प्रशिक्षकको वृत्तिविकासका योजना के छन् ? मलाई सबै चाहियो,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै छलफलका एक सहभागीले थपे, ‘एन्फाको भ्रष्टाचार लगायतका विषयमा कुनै सम्झौता नहोस् । भ्रष्टाचार विरुद्ध जिरो टोलरेन्सको नीतिमा काम गर्नुस् । म हाम्रा भन्ने शब्द जान्दिन, राम्रा चाहियो ।

कसको मान्छे भन्दा पनि कस्ता मान्छे मात्र हेर्छु । सबै बेथितीको अन्त्य भएको हेर्न चाहन्छु । मानिसहरु विदेश लगेर छाड्ने रोग पनि खेलकुदमा छ भन्ने सुनिएको छ । मलाई अहिलेसम्म को लुक्यो र कसले लुकायो जस्ता कुराको फेहरिस्त चाहिन्छ ।’

प्रधानमन्त्रीले समग्र खेलकुदको विषयमा कुरा गरे पनि फुटबलको विवादमा भने बढी चासो देखाएको छलफलका सहभागीले मुक्ती खबरलाई बताए । ‘फुटबलमा गम्भीर कुरा आएको छ । गम्भीर रुपमै छानबिन गर्नुस् र अरु खेल संघहरुमा पनि बेथिति तत्काल अन्त्य गरेर मलाई रिपोर्ट गर्नुस् भन्नु भयो,’ एक सहभागीले भने ।

सदस्यसचिव विष्टले यसै वर्ष वैशाखमा भएको एन्फा निर्वाचनका दौरान भएको भनिएको सबै अनियमितता र भ्रष्टाचारको विषयमा एन्फासँग जानकारी माग गरिएको बताए । ‘एन्फा निर्वाचनमा ठूलो आर्थिक चलखेल भएको, ज्यान मार्ने धम्की दिइएको लगायतका विषयमा अध्यक्ष पदका उम्मेदवार मणि कुँवरले दिएको निवेदन माथि कारबाही गर्ने क्रममा हामीले एन्फासँग जानकारी माग गरेका थियौं । तर अहिलेसम्म उहाँहरुले जानकारी गराउनु भएको छैन । अहिले चार जिल्ला फुटबल संघका अध्यक्षहरुले तिनको अडियो टेपसहित निवेदन दिनु भएको छ । यसमा छानबिन समिति बनाउने तयारी गरि रहेका छौं,’ सदस्यसचिव विष्टले भने ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083