सरकारविरुद्ध थप कार्यक्रम तय गर्न कांग्रेस बैठक बस्दै
वि.सं.२०७५ माघ २३ बुधवार १०:५७
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको बैठक बुधबार बस्दैछ । सरकारविरुद्ध थप कार्यक्रम र आन्तरिक विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।
बैठकमा सरकारी कदमको विरोध कुन शैलीमा अघि बढाउने भन्नेबारे छलफल हुने एक नेताले बताए । बैठकले नेविसंघको वर्तमान कार्यसमिति विघटन गर्ने या अधिवेशनका लागि थप समय दिने भन्ने निर्णय पनि लिने सम्भावना छ । नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिले थपिएको ५ महिनाभित्र पनि महाधिवेशन गराउन नसकेपछि पार्टीले केही दिनअघिबाट कामचलाउ हैसियतमा सीमित गरेको छ ।
यसैगरी बैठकमा पुसमा सम्पन्न महासमितिले पारित गरेको पार्टी विधान, राजनीतिक र आर्थिक प्रस्ताव परिमार्जनसहित टुंग्याउने विषयमा पनि छलफलको तयारी छ । महासमिति बैठकले पार्टी विधान, राजनीतिक तथा आर्थिक प्रस्ताव केन्द्रीय कार्यसमितिबाट परिमार्जनसहित जारी गर्ने गरी सर्वसम्मतिले पारित गरेको थियो ।




























