विदेश नीति कमजोर बन्दै गएको भन्दै सांसदहरुद्धारा सरकारको आलोचना
वि.सं.२०७५ माघ २४ बिहीवार १६:४१
shares

काठमाडौं। प्रतिनिधिसभाका सांसदहरुले मुलुकको विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। संघीय संसदको संसदीय सुनुवाई विशेष समितिको बिहीबारको बैठकमा बोल्दै पुष्पा भुसाल, सुरेन्द्र पाण्डे लगायतका प्रतिनिधिसभाका सांसदहरुले विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका हुन्।
समितिका सदस्य पाण्डेले समृद्धिको रटानलाई आधार मानेर राजदुत नियुक्तीको कामलाई अघि बढाइएको भन्दै आपत्ति पनि जनाए। सरकारले समृद्धि भन्ने तर समृद्धिको भिजन नभएकाहरुलाई राजदुत नियुक्त गर्ने गरेको उनको आरोप छ। समितिकी अर्का सदस्य पुष्पा भुसालले मुलुकको विदेश नीति कमजोर रहेको दावी गरे। उनले मुलुकको समृद्धिका लागि आवश्यक योगदान दिन सक्ने क्षमता भएकाहरुलाई राजदुत बनाउन नसक्दा मुलुकको विदेश नीति प्रभावकारी ढंगले अघि बढाउन नसकिएकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।
यता, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने सरकारको विदेश नीति कमजोर रहेको भन्ने सांसदहरुको भनाई सत्य नभएको दावी गरे। उनले मुलुकको विदेश नीति सुदृढ हुँदै गएको पनि बताए। मन्त्री ज्ञवालीले मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिनेगरी कूटनीतिक सम्बन्धलाई अघि बढाउने गरी राजदुत नियुक्तीको कामलाई अघि बढाइएको दावी पनि गरे।
परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले राजदुत पद रिक्त हुन नदिन सरकारले ३ महिना अघि नै नियुक्ती प्रक्रिया अघि बढाउने नयाँ व्यवस्था गरेको पनि समितिलाई जानकारी गराए। गत असार २४ गते बसेको मन्त्रीपरिषद बैठकबाट पारित गरेको राजदुत नियुक्तीसम्बन्धि निर्देशिकामा पद खाली हुनु ३ महिना अघि नै राजदुत नियुक्तीको प्रक्रिया सुरु गर्ने नयाँ व्यवस्था गरिएको छ। मन्त्री ज्ञवालीले राजदुत पद रिक्त हुन नदिन सरकारले सो व्यवस्था गरेको स्पष्ट पारे।































