सरकारी कर्मचारीलाई १ हप्ता भित्रै समायोजनको पत्र,२१ दिन भित्र हाजिर नभए सेवाबाट बर्खास्त!

4.39K
shares

काठमाडौं। सरकारले कर्मचारी समायोजनको काम सकेर समायोजन भएका कर्मचारीलाई पत्र काट्ने काम शुरु गरेको छ।स्वास्थ्य सेवा वाहेक अन्य सेवाका कर्मचारीको समायोजन सम्बन्धी काम सकिएकाले कर्मचारीलाई पत्र काट्ने काम शुरु गरिएको हो।

स्वास्थ्य सेवा अन्तर्गत कर्मचारीको समायोजनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अगाडि मात्रै कर्मचारीको वरिष्ठता क्रम सार्वजनिक गरेको थियो। समायोजन प्रक्रिया टुंग्याउन भने केही दिनको समय लाग्ने मन्त्रालयले जनाएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता (सहसचिव) सुरेश अधिकारीले अबको १ हप्ता भित्रमा स्वास्थ्य सेवा बाहेक अन्य सेवा र समूहका सबै कर्मचारीको हातमा समायोजनको पत्र पुगि सक्ने बताए।

‘अहिले हामी तीनवटै तह (संघ, प्रदेश र स्थानीय) मा समायोजन भएका कर्मचारीका लागि पत्र तयार पार्दै छौं,’ प्रवक्ता अधिकारीले भने, ‘सबै कर्मचारीका लागि पत्र प्रिन्ट गरेर बुझाउँदासम्म १ हप्तासम्म लाग्न सक्छ।’

सरकारले फागुन मसान्त सम्ममा समायोजन भएका सबै ठाउँमा कर्मचारी पुगिसक्ने विश्वास लिएको छ। ‘समायोजन भएका कर्मचारीले पत्र बुझेको २१ दिन भित्र सम्बन्धित कार्यालयमा हाजिर हुनैपर्छ,’ प्रवक्ता अधिकारीले भने, ‘त्यस कारण फागुन मसान्त सम्ममा सबै कर्मचारी समायोजन भएको तहमा हाजिर भइ सक्नेछन्।’

पत्र बुझेपछि कहाँ हाजिर हुने ?

सरकारले समायोजन रोजेका कर्मचारीलाई हाल कार्यरत रहकै कार्यालयमा समायोजन भएको पत्र बुझाउनेछ। कर्मचारीले पत्र बुझे पछि (बाटोको म्याद बाहेक) २१ दिनभित्र आफू समायोजन भएको ठाउँमा हाजिर भइ सक्नु पर्ने छ।

संघमा समायोजन भए,

समायोजन रोज्दा संघमा परेका कर्मचारीले कर्मचारीले ‘संघमा समायोजन भएको’ पत्र प्राप्त गर्नेछन्। यस्ता कर्मचारीले संघको कर्मचारीको रुपमा आफू कार्यरत रहेकै कार्यालयमा हाजिर गर्न सक्नेछन्।

जस्तै, जिल्ला समन्वय समिति जुम्लामा कार्यरत कुनै कर्मचारी समायोजन हुँदा संघमा परेका छन् भने उनले समायोजन को पत्र बुझेर जिल्ला समन्वय समितिकै कार्यालयमा संघको कर्मचारीका रुपमा काम गर्न सक्नेछन्। पत्र बुझे पछि उनले त्यहाँ हाजिर भएको व्यहोरा सामान्य प्रशासन मन्त्रालयमा जानकारी गराउनुपर्ने छ।

यदि सिंहदरवार स्थित कुनै मन्त्रालयमा कार्यरत कर्मचारी संघमा परेका छन् भने ती कर्मचारीले हाल कार्यरत रहेकै मन्त्रालयमा हाजिर लगाएर काम गर्न सक्नेछन्।

पछि त्यस्ता कार्यालयमा कार्यरत कर्मचारीको तालुक राख्ने विभाग र मन्त्रालयले सरुवा गर्ने छ। जस्तै जिल्ला समन्वय समिति जुम्लामा कार्यरत कर्मचारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यकताअनुसार अन्य कार्यालय र ठाउँमा सरुवा गर्न सक्ने छ। सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा कार्यरत कर्मचारी समायोजन भएर संघमै परेका छन् भने उनको सरुवा खानेपानी मन्त्रालयले नै गर्ने छ।

प्रदेशमा समायोजन भए,

समायोजन रोज्दा प्रदेश तहमा परेका कर्मचारीले आफू परेको प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा हाजिर हुनुपर्ने छ।

जस्तै, कुनै कर्मचारी समायोजन हुँदा गण्डकी प्रदेशमा परेका छन् भने उनले गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएर हाजिर हुनुपर्ने छ। त्यसपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आवश्यकता अनुसार प्रदेश मातहको मन्त्रालय, विभाग र कार्यालयमा कर्मचारीलाई परिचालन गर्ने छ।

स्थानीय तहमा समायोजन भए,

स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई उनीहरु समायोजन भएको स्थानीय तहको नाम नै उल्लेख गरेर पत्र बुझाइने छ। यसरी पत्र बुझे पछि कर्मचारीले समायोजन भएको स्थानीय तहमा हाजिर हुनुपर्ने छ।

स्थानीय तहले समायोजन भएर आएका कर्मचारीलाई आवश्यकता अनुसार आफू मातहतका कार्यलयमा परिचालन गर्न सक्ने छ।

२१ दिन भित्र हाजिर नभए सेवाबाट बर्खास्त !

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अबको १ हप्तामा समायोजनमा परेका सबै कर्मचारीलाई पत्र बुझाइ सक्ने गरी प्रक्रिया अगाडि बढाएको छ। स्वास्थ्य सेवा बाहेक अन्य सेवा र समूहका कर्मचारीले अबको १ हप्ता भित्र समायोजन भएको पत्र बुझि सक्ने मन्त्रालयको दावी छ।

समायोजन भइसकेका कर्मचारीले भने पत्र बुझेको २१ दिनभित्र आफू समायोजन भएको तहमा हाजिर भइसक्नुपर्ने छ। बाटो म्याद बाहेक पत्र बुझेको २१ दिनभित्र हाजिर नहुने कर्मचारीलाई सरकारले सेवा बाटै बर्खास्त गर्न सक्ने छ।

कर्मचारी समायोजन अध्यादेशको दफा (१६) मा समायोजनको पत्र बुझेका कर्मचारीले (बाटो म्याद) बाहेक २१ दिन भित्र सम्बन्धित कार्यालयमा हाजिर नभए सेवाबाट अवकास दिनेसम्मको व्यवस्था गरेको छ। समायोजन अनुसार हाजिर नहुने कर्मचारीलाई हाजिर नहुनुको कारणबारे स्पष्टीकरण सोधी स्पष्टीकरण चित्त बुझ्दो नभए सेवाबाट बर्खास्त गरिने छ।

समायोजनमा परेका कुनै कर्मचारी विदामा रहे विदा सकिएको दिनदेखि २१ दिनभित्र हाजिर हुनु पर्ने कर्मचारी समायोजन अध्यादेशमा उल्लेख छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083