नेपालगञ्जको भविष्य उज्ज्वल छ : मुख्यमन्त्री पोखरेल
वि.सं.२०७५ कात्तिक २१ बुधवार १६:५८
shares

राँझा । सरकारका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी नभए पनि नेपालगञ्जको भविष्य उज्ज्वल भएको बताएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले बुधबार आयोजना गरेको स्वागत तथा व्यापारिक क्षेत्रका समस्याबारे छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालगञ्जको भविष्यबारे चिन्ता गर्नुपर्ने अवस्था नआउने बताए ।
“नेपालगञ्जको भविष्यको चिन्ता नगर्नुस्, प्रदेश राजधानी नभए पनि यसको भविष्य उज्ज्वल छ”, मुख्यमन्त्री पोखरेलले भने, “नेपालगञ्जको उद्योगी व्यापारीको समस्या हल गर्न प्रदेश सरकार लागि परेको छ, नसके सङ्घीय सरकारले गर्छ । प्रदेश ५ सरकारले रुपन्देहीमा भैरहवा–बुटवल, दाङमा तुल्सीपुर–घोराही र बाँकेमा नेपालगञ्ज–कोहलपुरलाई केन्द्र बनाई महानगरका रुपमा विकास गर्ने योजना अगाडि सारेकाले महानगर बनेसँगै नेपालगञ्जका उद्योगी व्यापारीका अधिकांश समस्या हल हुने मुख्यमन्त्री पोखरेलले उल्लेख गरे।
उनले प्रदेश ५ मा रुपन्देही, बाँके र दाङलाई केन्द्र मानेर तीनवटा महानगरसहितको एकीकृत गुरुयोजना निर्माण गर्ने सोचका साथ प्रदेश सरकारले काम गरिरहेको बताए । बाँकेको नौवस्तामा निर्माण हुन गइरहेको प्रदेशस्तरीय औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माणको लागि प्रदेश र सङ्घीय सरकारबाट बजेट विनियोजन भइसकेको जानकारी गराउँदै मुख्यमन्त्री पोखरेलले औद्योगिक क्षेत्र विस्तारमा जिल्लास्थित सबैले सहयोग गर्न आग्रह गरे ।














